जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार १९:३०

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसहित पाँच जनाको घरमा सम्पत्ति सुद्धिकरणको एकसाथ छापा, सुराक बन्यो झापा


काठमाडौं, असोज २१ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरासहितका आफन्तको घरमा एकसाथ छापा मारेको छ ।

प्रधानमन्त्री सचिवालयको निर्देशनमा बुधबार दिउँसो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जवरासहित उहाँसँग निकट सम्बन्ध रहेका पाँच जनाको घरमा एकसाथ छापा मारेको हो ।

विभागले उनीहरूको घरबाट केही विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । उच्चस्रोतका अनुसार विभागले बुधबार विभिन्न पाँच वटा टोली बनाएर एक साथ छापा हानेको थियो ।

बिभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका दाइ प्रभुशमशेर राणाको मण्डिखाटारस्थित घर, रानीबारीस्थित नवराज थपलिया, धुम्बाराहीस्थित नारायण दाहाल, दीपक तिमल्सिना र भक्तपुरस्थित नविनराज बस्नेतको घरमा छापा मारेको हो ।

प्रहरीले असोज ११ गते बिहान चोलेन्द्रशमशेर राणालाई नियन्त्रणमा लिएपछि उनीसँग जोडिएकाहरूको कलडिटेल हेरेको थियो । सो क्रममा उनीहरु अनुसन्धानको घेरामा परेको सरकारको भनाई छ ।

राणा पक्राउको तीन दिनपछि असोज १४ गते झापाका इनम सापकोटालाई समेत प्रहरीको विशेष ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो । झापाली इनम समातिएपछि नै चोलेन्द्रको कनेक्शन खुलेको उच्चस्रोतको भनाई छ ।

हाल इनममाथि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थप अनुसन्धान जारी राखेको छ । सापकोटासँग चोलेन्द्र र उहाँका आफन्तको समेत कनेक्सन देखिएको प्रहरीको दावी छ ।

गृह मन्त्रालयले चोलेन्द्र र इनम सापकोटासँग कनेक्सन देखिएपछि सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई समेत निलम्बन गरेर अनुसन्धान थालेको छ ।

प्रधानमन्त्री कार्यालयले चोलेन्द्रले सत्ता बदल्न खेल खेलेको सूचनाको आधारमा मध्यराती घरबाट उठाउन लगाएको थियो । त्यसपछि लगातार नातेदार र निकट सम्बन्ध रहेका मानिसको खोजीमा रहेको छ ।