जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार ११:११

पशुपतिनाथ मन्दिरमा प्रवेश गरेका इटहरीका मुस्लिम अभियन्ता ओसीम र पत्नी प्रियङ्का पक्राउ


काठमाडौं, असोज २१ । पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले प्रियङ्का र ओसीमलाई इटहरीबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।

केही दिनअघि परियार र अन्सारी पशुपतिनाथ मन्दिर पुगेको भिडियो सार्वजनिक भएको थियो । दुवै जनाले मन्दिर परिसरमा भिडियो बनाएर पोष्ट गरेपछि हिन्दुबाहेक प्रवेश गर्न नमिल्ने मन्दिरमा मुस्लिम प्रवेश गरेको भन्दै बिरोध भएको थियो । सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि प्रियङ्का र ओसीमको विषयमा चर्चा भएको थियो।

भिडियोमा अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्ने टोपी लगाएको देखिएपछि यो विषय प्रतिनिधिसभाको बैठकसम्म पुगेको थियो। सांसद खुस्बु ओलीले संसदमा समेत यसबारे प्रश्न उठाउनु भएको थियो ।

परियार र अन्सारी पतिपत्नी हुुनुहुन्छ । परियारले आफूले श्रीमानलाई आफ्नो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ दर्शन गराउन लगेको बताउनु भएको थियो । श्रीमानलाई सँगै मन्दिर लैजानुलाई अन्य उद्देश्यबाट नबुझ्न उहाँले आग्रह गर्नुभएको छ ।
अन्सारी इटहरी–८ का स्थायी बासिन्दा हुनुहुन्छ ।