सोमवार बसेको न्यायपरिषद बैठकले डा. रत्नबहादुर बागचन्दसहित न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वाेच्च अदालतको न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो
काठमाडौं, असोज २० । सर्वाेच्च अदालतकी बरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश सिफारिशमा फरक मत राख्नुभएको छ ।
न्यायपरिषद्को सदस्य समेत रहेकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्लले सर्वोच्च अदालतका चार न्यायाधीश सिफारिसमा असहमतिसहित फरक राय लेख्नुभएको हो ।
कुनै बिधिबिना नै मनोमानी रूपमा न्यायाधीशहरूको नाम छनोट गरिएको र त्यसक्रममा विधि, प्रक्रिया केही पनि नहेरिएको भन्दै मल्लले फरक मत राखेको न्यायपरिषद्का एक सदस्यले जनताटाइम्स डटकमलाई जानकारी दिए । ती सदस्यका अनुसार मल्लले आफू न्यायलयको गरिमामाथि आँच आउने काममा सहभागी हुन नसक्ने भन्दै फरक राय लेख्नुभएको हो ।
सोमवार बसेको न्यायपरिषद बैठकले उच्च अदालतका मुख्यन्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वाेच्च अदालतको न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो । सो निर्णय प्रधानन्यायाधीश तथा परिषद अध्यक्ष डा. मनोज शर्मासहित बहुमतले भएको हो ।
न्यायापरिषद सदस्यका अनुसार न्यायाधीश मल्लले ‘यसरी त हुँदैहुन्न, बीचबाट नाम छनोट गरेपछि केही न केही आधार त देखाउनुपर्छ’ भन्ने अडान लिनुभएको थियो । ‘सपना श्रीमानले हामीले उहाँहरूको नाम चयन गर्ने, तर केही पनि आधार देखाउन नसक्ने हो भने मेरो सहमति रहँदैन भनेर फरक मत लेख्नुभयो,’ ती सदस्यले भने ।
फरक राय लेख्नेक्रममा प्रधानले चार आधार देखाउनु भएको थियो । पहिलोमा ‘संविधान, ऐन तथा न्यायका मूल्यमान्यता विपरीत नामहरू सिफारिस गर्न खोजिएको’ मल्लको भनाई छ । यस्तै दोस्रो आधारमा ‘सिफारिसका क्रममा पारदर्शी, वस्तुपरक र विश्वासिलो आधार दिन नसकेको’ उहाँको निश्कर्ष छ ।
यसैगरी तेस्रो आधार ‘लामो समयदेखि जिल्ला न्यायाधीशबाट बढोत्तरी हुँदै आएका, जेष्ठताक्रममा रहेकालाई छाडेर अरुलाई चयन गर्नु अपरिपक्क र विवादरहित नहुने’ तथा चौथो ‘सिफारिसका क्रममा अधिकतम समावेशीपनको प्रयास नभएको, कानुन व्यवसायी समुदाय र नेपाल बार एशोसिएसनलाई पुरै बेवास्ता भएको’ आधार मल्लले देखाउनु भएको छ ।












प्रतिक्रिया दिनुहोस्