काठमाडौं, असोज १४ । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको विमानमा सहपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेपछि ठूलो दुर्घटना टरेको दाबी गरिएको छ।
फ्लाइदुबईको उडान एफजेड १०७३ मा ककपिटभित्र दुई पाइलटबीच हिंसात्मक झडप भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्याप्टेन स्मित मच्छरमाथि ओमानी सहपाइलटले चक्कु प्रहार गरेका थिए।
आक्रमणबाट घाइते भए पनि क्याप्टेन मच्छरले विमानको नियन्त्रण कायम राख्दै सुरक्षित अवतरण गराउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। उहाँले विमानलाई साउदी अरबको तबुकतर्फ मोडेर सुरक्षित अवतरण गराउन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनाका क्रममा विमानले आपत्कालीन संकेत प्रसारण गरेको थियो। सुरुमा ‘७७००’ र त्यसपछि ‘७५००’ कोड पठाइएको थियो। ‘७७००’ सामान्य आपत्कालीन अवस्था र ‘७५००’ विमानमा गैरकानुनी हस्तक्षेप वा सम्भावित अपहरणको संकेतका रूपमा प्रयोग हुन्छ।
‘७५००’ संकेत प्राप्त भएपछि इजरायलले आफ्ना लडाकु विमानसमेत परिचालन गरेको बताइएको छ। फ्लाइट ट्र्याकिङ विवरणअनुसार विमान करिब ३४ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको थियो।
विमान तबुकमा सुरक्षित अवतरण गरेपछि यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेको फ्लाइदुबईले जनाएको छ। दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ।
घटनाबारे साउदी र इजरायली सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्। ककपिटमा झडप किन सुरु भयो र त्यस क्रममा विमानको नियन्त्रणमा कति असर परेको थियो भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुने बताइएको छ।












प्रतिक्रिया दिनुहोस्