काठमाडौं, मंसिर २। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम अर्धठोस सुनकोसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुआ वाङ रहेका छन् । उनको राहदानी नम्बर HJ2526727 रहेको प्रहरीले जनाएको छ ।
नेपाल वायुसेवा निगमको उडान नम्बर RA410 मार्फत हङकङबाट काठमाडौं आएका वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाई ल्याएको सुनको पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार चार थान उक्त पदार्थ प्लास्टिकको प्याकिङसहित १ किलो ८०३.७७ ग्राम रहेको छ । बरामद सुनसहित वाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्