काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिरुवामा सिँचन गरेर पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्नुभएको छ ।
आजदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला पार्टी असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेको अवस्थामा आयोजना गरिएको हो । भेलाले पार्टीसामु खडा भएका चुनौतीको पहिचान गर्दै संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्तामा आत्मविश्वास र उत्साह भर्ने तथा जनविश्वास पुनः आर्जन गर्ने अपेक्षा गरिएको छ ।
भेलाको उद्घाटनका क्रममा अध्यक्ष ओलीले बिरुवामा सिँचन गरेर संगठनको विकास, संरक्षण र समृद्धिको प्रतीकात्मक सन्देश दिनुभएको छ ।
यसैबीच, भेलालाई स्वागत गर्दै पार्टी सचिव पद्मा अर्यालले वर्तमान परिस्थितिमा पार्टीलाई बलियो बनाउने र जनताको विश्वास पुनः आर्जन गर्ने विषय नै मुख्य चुनौती रहेको बताउनुभएको छ ।
उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै जनताका प्रश्न, गुनासा र सुझाव सुन्न सबै तयार हुनुपर्ने धारणा राख्नुभयो । जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका कुरा सुन्ने, छलफल गर्ने र पार्टीमा आबद्ध गराउने अभियानमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।














प्रतिक्रिया दिनुहोस्