जनता टाइम्स

२ मंसिर २०८३, बुधबार १०:४६

काठमाडौं-तराई/मधेश द्रुतमार्ग : राष्ट्रपतिको उपस्थितिमा आज महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ हुँदै


काठमाडौं, मंसिर २ । काठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङ छिचोल्न लागिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार राष्ट्रपति पौडेलका उपस्थितिमा आज महादेवटार सुरुङ ब्रेक थ्रु हुँदैछ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये आज ब्रेक थ्रु गरिने सुरुङको लम्बाइ करिब ३.४५ किलोमिटर छ । यसअघि भदौ महिनामै ब्रेक थ्रु भइसकेको अर्को सुरुङको लम्बाई ३ किलोमिटर ४८६ मिटर लामो छ ।

आजको ब्रेक थ्रुसँगै महादेवटारमा समानान्तर रूपमा निर्माण गरिएका दुवै सुरुङको खन्ने काम पूरा हुनेछ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म जोड्ने द्रुतमार्गको कुल लम्बाइ ७० किलोमिटर ९७७ मिटर रहेको छ । यसमा सातवटा सुरुङ निर्माण भइरहेका छन् । सात सुरुङको कुल लम्बाइ ११.२ किलोमिटर रहेको छ ।

महादेवटारसँगै यसअघि मकवानरमै पर्ने धेद्रे र लेनडाँडा सुरुङको पनि ब्रेक थ्रु भइसकेको छ । धेद्रे सुरुङ एक हजार ६९१ मिटर र लेनडाँडा सुरुङ एक हजार ६२३ मिटर लामो छ। यी सुरुङमा अहिले फिनिसिङको काम भइरहेको छ। द्रुतमार्गमा भित्रिने र बाहिरिने सवारीका लागि समानान्तर सुरुङ निर्माण गरिएको हो।

अन्य सुरुङमा भने खनाइ र निर्माणको काम जारी छ। दुई किलोमिटरभन्दा लामो चन्द्रामभीरसुरुङसहित देवीचौर, सिसौटार र मौरीभीर सुरुङ निर्माणाधीन छन् ।