काठमाडौं, मंसिर २ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हितविपरीत कुनै पनि सन्धि तथा सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा अध्यक्ष साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सुझाव सार्वजनिक गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा नेपालको नदी, नाला, खनिज तथा सिमानासँग सम्बन्धित राष्ट्रिय सम्पत्ति र भूभागमा कुनै असर पर्ने कागजातमा हस्ताक्षर नगर्न आग्रह गर्नुभएको छ ।
अध्यक्ष साम्पाङले फेसबुकमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीले भारत गएर कुनै किसिमको राष्ट्रघाती सन्धि सम्झौता गर्नु हुँदैन ! नदी, नाला, खनिज र सिमाना गुम्ने किसिमको कुनै कागजमा सही गर्नु हुँदैन ! जे दिन्छन् टन्न खाएर पिएर आउनु बरु !’
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणलाई करिब २५ घण्टाको बनाइएको छ । भ्रमणका क्रममा उहाँले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट तथा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र भारतबीच लामो समयदेखि छलफलमा रहेका सीमा, जलस्रोत, ऊर्जा, व्यापार, हवाई मार्ग तथा पूर्वाधार विकासलगायतका विषय भ्रमणका क्रममा उठ्ने अपेक्षा गरिएको छ ।
यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र प्राकृतिक स्रोतसाधनको संरक्षणलाई प्राथमिकतामा राखेर मात्रै कुनै पनि सहमति तथा सम्झौता गर्नुपर्ने अध्यक्ष साम्पाङको सुझाव देखिन्छ ।
भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने क्रममा नेपालको राष्ट्रिय हित र सार्वभौमिकतामा कुनै सम्झौता हुन नहुने सन्देशसमेत उहाँको अभिव्यक्तिले दिएको छ ।














प्रतिक्रिया दिनुहोस्