काठमाडौं, मंसिर २ । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले गोप्य सूचना आदानप्रदानका लागि प्रयोग गर्दै आएको आन्तरिक सञ्चार सञ्जाल ‘एनएसएनेट’ अवरुद्ध भएको छ । प्राविधिक समस्याका कारण सञ्जाल बन्द भएपछि एजेन्सीका कर्मचारीलाई चरणबद्ध रूपमा कार्यालय बोलाइएको थियो ।
सीएनएनका अनुसार मंगलबार साँझदेखि नियमित कार्यतालिका लागू गरिए पनि सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन । एनएसएनेटमार्फत एजेन्सीका कर्मचारीले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचनाहरू आदानप्रदान गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनका अनुसार गत महिना पत्ता लागेका सफ्टवेयरका गम्भीर सुरक्षा कमजोरी समाधान गर्ने क्रममा समस्या उत्पन्न भएको हो । वेबसाइट सञ्चालनमा व्यापक प्रयोग हुने प्रोग्रामिङ भाषा ‘पीएचपी’मा रहेका कमजोरी हटाउन सफ्टवेयर अपडेट गर्दा केही प्रणाली पुनः सञ्चालन हुन नसकेको उनले बताएका छन् ।
एनएसएले नियमित मर्मतसम्भारका क्रममा केही आन्तरिक प्रणाली अस्थायी रूपमा प्रभावित भएको स्वीकार गरेको छ । तर राष्ट्रिय सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण काम र प्रतिरक्षा क्षमता भने पूर्ण रूपमा सञ्चालनमा रहेको दाबी गरेको छ ।
अधिकारीहरूका अनुसार घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण फेला परेको छैन । वैकल्पिक सञ्चार सञ्जाल र अन्य सुरक्षा व्यवस्थाका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अत्यावश्यक गुप्तचर सूचना पठाउन पनि अवरोध नहुने बताइएको छ ।
एनएसएनेट अवरुद्ध भए पनि अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड सम्मिलित ‘फाइभ आइज’ गुप्तचर सूचना आदानप्रदान प्रणाली भने प्रभावित नभएको जनाइएको छ ।
यसअघि अमेरिकी उड्डयन प्रणाली, माइक्रोसफ्टका सेवा र बैंकिङ प्रणालीमा समेत प्राविधिक समस्या देखिएका थिए । लगातार भइरहेका यस्ता अवरोधले डिजिटल पूर्वाधारमा बढ्दो निर्भरता र राष्ट्रिय सुरक्षामा पर्न सक्ने जोखिमबारे चिन्ता बढाएको छ ।














प्रतिक्रिया दिनुहोस्