काठमाडौं, मंसिर १ । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ पर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गर्नुभएका अध्यक्ष रायलाई पक्राउ गरेको हो। गाउँसभाको निर्णय पारित गराउने क्रममा किर्ते हस्ताक्षर गरेको आरोपमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उहाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अध्यक्ष रायमाथि आर्थिक वर्ष २०८०/८१ को गाउँसभामा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरी बजेट पारित गराएको आरोप लागेको छ।
गाउँसभाको बैठकमा बजेटसम्बन्धी निर्णयका क्रममा मत बराबर भएपछि अध्यक्ष रायले वडा सदस्य सहनीको हस्ताक्षर किर्ते गरेर बजेट पारित गराएको आरोप लगाइएको छ।
यस विषयलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष सरिता कुमारी पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अध्यक्ष राय र उपाध्यक्ष सरिता कुमारी दुवै जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ।
किर्ते हस्ताक्षरसम्बन्धी आरोपमा पक्राउ पर्नुभएका अध्यक्ष रायमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्