जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १९:५५

हेटौँडा–भीमफेदी–देउराली सडक चौडा गरिने, दुर्घटना न्यूनीकरणका लागि मापसे–लापसे जाँचमा कडाइ गर्ने


हेटौँडा, मंसिर १ । बागमती प्रदेश सरकारले हेटौँडा–भीमफेदी–देउराली हुँदै काठमाडौं जाने सडकलाई चौडा गर्ने, आवश्यक सडक पुल निर्माण गर्ने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे–लापसे जाँचको दायरा बढाउने निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा आज हेटौँडामा बसेको बैठकले उक्त सडकखण्डमा बढ्दो दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको हो ।

बैठकले हेटौँडा–भीमफेदी–देउराली–हेभी सडकखण्ड चौडा गर्न तथा आवश्यक स्थानमा सडक पुलको उचित व्यवस्थापन र निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ । उक्त कार्यका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले आवश्यक स्रोत व्यवस्थापन गर्ने निर्णय भएको छ । थप बजेट आवश्यक परे प्रदेश विपद् व्यवस्थापन कोषबाट समेत व्यवस्था मिलाइने भएको छ ।

त्यस्तै, सवारी साधनको प्राविधिक अवस्था तथा गुणस्तर परीक्षण गर्न प्रदेशमा सवारी साधन फिटनेस परीक्षण केन्द्र (भीएफटीसी) स्थापना गरिने भएको छ । त्यसका लागि आवश्यक निर्णय गराउन उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई आगामी प्रदेश मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्न निर्देशन दिइएको छ ।

बैठकले सवारी चालकको अनुशासन र आचरण पालना गराउन मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण (मापसे–लापसे) लाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । परीक्षणका लागि आवश्यक किट व्यवस्थापन गर्न स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई समेत जिम्मेवारी दिइएको छ ।

एकतर्फी सवारी व्यवस्थापनलाई सहज बनाउन वैकल्पिक मार्गका रूपमा भीमफेदी–कोगटे सडकतर्फ मालवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ । उक्त मार्गमा सवारी सञ्चालनका लागि आवश्यक रुट परमिट तथा पटके अनुमति व्यवस्थापन गर्ने जिम्मेवारी यातायात व्यवस्था कार्यालय मकवानपुरलाई दिइएको छ ।

सडक सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । मन्त्रालयले प्रचलित नियमअनुसार सडक सुरक्षा सामग्री (रोड सेफ्टी इक्विपमेन्ट) आपूर्ति गरी आवश्यक स्थानमा जडान तथा पूर्वाधार विकास गर्नुपर्ने निर्णयमा उल्लेख छ ।

त्यस्तै, हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने सडकअन्तर्गत मकवानपुरको देउराली क्षेत्रमा उपयुक्त स्थान छनोट गरी प्रहरी चौकी स्थापना गरिने भएको छ । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर प्रहरी चौकी व्यवस्थापन गर्न आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयलाई निर्देशन दिइएको छ । उक्त चौकीमार्फत मापसे–लापसे परीक्षणसहित अन्य सवारी जाँचको जिम्मेवारी सुरक्षा निकायले निर्वाह गर्ने व्यवस्था मिलाइने भएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, अभिमुखीकरण तथा प्रचारप्रसारका गतिविधि सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसको जिम्मेवारी उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई दिइएको छ ।

यसैगरी, अन्तरप्रदेश सडक सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन मधेस प्रदेश र बागमती प्रदेशबीच समन्वय बैठक आयोजना गरिने भएको छ ।

विद्युतीय सवारी साधन (ईभी) मा प्रचलित कानुनले निर्धारण गरेको सिट सङ्ख्याको अनिवार्य पालना गराउन पनि बैठकले निर्देशन दिएको छ । कानुनविपरीत सिट सङ्ख्या थप गरिएको पाइएमा सम्बन्धित सवारी धनीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने निर्णय भएको छ । यसको नियमनकारी जिम्मेवारी उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई दिइएको छ ।

बैठकले भएका सबै निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित प्रदेश मन्त्रालयका सचिवहरूलाई जिम्मेवार बनाउने र निर्णय कार्यान्वयनको प्रगति प्रत्येक १५ दिनमा प्रतिवेदनमार्फत पेस गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, प्रदेशसभा सदस्यहरू एका लाल श्रेष्ठ, प्रेमभक्त महर्जन र रघुनाथ महर्जनलगायतको उपस्थिति रहेको थियो ।

बैठकमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. देवराज रोका, मुख्यन्यायाधिवक्ता शिवराम तिमिल्सिना, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारी, सम्बन्धित मन्त्रालय तथा कार्यालयका प्रतिनिधि, प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेश विष्टलगायत सहभागी हुनुहुन्थ्यो ।