जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार १८:४६

रास्वपा महोत्तरी विवादले लियो विस्फोटक रुप : सभामुख डिपीको कार्यक्रमस्थलको बिषयमा होटलको गेटमै मारपिट


बर्दिबास, मंसिर १ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको विवादले विस्फोटक रूप लिएको छ । जिल्ला उपसभापति चन्द्रकिशोर महतोमाथि महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो लगायतका व्यक्तिहरूले आक्रमण गरेपछि विवादको विस्फोटक रूप बाहिर आएको हो ।

उपसभापति चन्द्रकिशोरमाथि सांसद प्रमोदसहितका समूहले हातपातको प्रयास, गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ । रास्वपा महोत्तरीले प्रेस नोट नै जारी गरेर गम्भीर घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । घटना बर्दिबासको हो । प्रतिनिधि सभा सदस्य महतोको निर्देशनमा घटना भएको जनाइएको छ ।

‘संगठनको जिम्मेवार तहमा रहेका नेतृत्वमाथि जनप्रतिनिधिकै निर्देशनमा हातपातको प्रयास र दुर्व्यवहार भएको भन्ने विषय सामान्य घटना नभई संगठनको विधि, विधान, अनुशासन, मर्यादा र लोकतान्त्रिक मूल्य, मान्यतामाथिको गम्भीर प्रहार हो,’ पीडितसमेत रहेका महोत्तरीका कार्यवाहक सभापति महतोले प्रेस नोट जारी गर्दै भन्नुभएको छ, ‘ राजनीतिक शक्ति, पद र पहुँचको आडमा संगठनभित्रै जिम्मेवार नेतृत्वलाई धम्क्याउने, अपमानित गर्ने तथा भौतिक आक्रमणको प्रयास गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।’

महोत्तरी जिल्ला समिति यस्ता अराजक, अनुशासनहीन र दण्डनीय गतिविधिको घोर निन्दा एवं भर्त्सना समेत गरेको छ । ‘संगठन भनेको व्यक्ति विशेषको निजी सम्पत्ति होइन र कुनै जनप्रतिनिधि वा पदाधिकारीलाई संगठनको विधि, विधान र मर्यादाभन्दा माथि रहने छुट छैन,’ महतोको विज्ञप्तिमा भनिएको छ, ‘पद र शक्तिको दुरुपयोग गर्दै संगठनभित्र भय सिर्जना गर्ने तथा जिम्मेवार नेतृत्वमाथि दबाब र दुर्व्यवहार गर्ने कार्यलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन ।’

घटनामा संलग्न रहेका सम्पूर्ण व्यक्तिहरूमाथि तत्काल निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी प्रमाणित हुनेहरूमाथि संगठनको विधान, नियम तथा अनुशासनअनुसार हदैसम्मको कारबाही गर्न महोत्तरी जिल्ला समिति सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

दोषीलाई कडा कारबाही गर्न माग

‘हामी स्पष्ट चेतावनी दिन चाहन्छौँ कि संगठनको अनुशासनमाथि प्रहार गर्ने, जिम्मेवार नेतृत्वको मानमर्दन गर्ने र राजनीतिक पहुँचको आडमा अराजकता मच्चाउने जोकोहीलाई उन्मुक्ति दिनु हुँदैन,’ नोटमा भनिएको छ, ‘यदि यस्ता घटनालाई बेवास्ता गरियो वा दोषीलाई संरक्षण गर्ने प्रयास भयो भने त्यसले संगठनभित्र दण्डहीनता र अराजकतालाई थप विस्तार गर्नेछ ।’ महोत्तरी रास्वपाले यस्तो प्रवृत्तिविरुद्ध जिल्ला समिति दृढतापूर्वक प्रतिकार गर्ने बताएको छ ।

‘हामी संगठनको एकता र अनुशासनका पक्षधर हौँ, तर एकताको नाममा अन्याय, अपमान, धम्की र अराजकता सहन सकिँदैन, उपसभापति महतोले भन्नुभएको छ, ‘संगठनको गरिमा र जिम्मेवार नेतृत्वको सम्मानमाथि हुने कुनै पनि प्रकारको आक्रमणविरुद्ध हामी आवाज निरन्तर बुलन्द राख्नेछौँ ।’ सोमबार महोत्तरी बर्दिबासमा सभामुख डिपी अर्यालको स्वागत कार्यक्रम कहाँ गर्ने भन्ने विषयबाट बर्दिबास रास्वपा दुई कित्तामा विभाजित भई विवाद चर्किएको हो ।

प्रतिनिधि सभा सदस्य प्रमोद महतो समूहले सभामुख अर्यालको स्वागत र सत्कारको कार्यक्रम गौतम होटेलमा राखेका थिए भने अर्को समूहले विनायक होटेलमा राखेका थिए ।

विवाद बल्झिएपछि गौतम र विनायक दुवै होटेलको कार्यक्रम रोकिएको थियो । अन्ततः भेटघाट कार्यक्रम बर्दिबास उद्योग वाणिज्य संघको सभा हलमा गरिएको थियो । सभामुखलाई खाना भने गौरीडाँडाको खुकुरी होटेलमा खुवाइएको थियो । होटेलको गेटमा विवाद भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

यता प्रतिनिधिसभा सदस्य प्रमोद महतोले आफू र आफ्नो समूहले उसभापतिलाई हातपात, गालीगलौज लगायत कुनै गतिविधि नगरेको बताएको छ । तर उपसभापतिमाथि भएको घटना के हो ? यस विषय छलफल गर्न बर्दिबास उद्योग वाणिज्य सङ्घमा बैठक बसिरहेको छ । बैठकमा रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मधेस प्रदेश महामन्त्री मनिष साह, केन्द्रीय सदस्य अङ्कित यादव लगायत सहभागी हुनुभएको छ ।