सिन्धुली, मंसिर १। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको म.प्र. ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल अँधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने पाँच जनाको विवरण खुल्न बाँकी छ ।
पहिचान खुल्नेमा चालक धनुषाको सहिदनगर नगरपालिका–८ का दीपककुमार दास, सहिदनगर–७ की १७ वर्षीया रानीकुमारी मण्डल तथा सहिदनगर–२ का १४ वर्षीय पीयूष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।
त्यस्तै, ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियंका साह र उनका तीन छोरी १६ वर्षीया जेनी, ११ वर्षीया सफलता र ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली उद्धारमा खटिएको थियो ।
घाइतेहरूको थप विवरण संकलन र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्