जनता टाइम्स

३० कार्तिक २०८३, सोमबार १४:३७

बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गर्ने तयारी भइरहेको छ : मुख्यमन्त्री थापा


भक्तपुर, कात्तिक ३० गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिसरमा आज आयोजित डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रदेशका १३ वटै जिल्लालाई योगमय बनाउने उद्देश्यसहित प्रदेश सरकारले कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बागमती प्रदेशका १३ जिल्लालाई योगमय जिल्ला बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याएको छ, योग साधना गर्ने पातञ्जल, पतञ्जली, जीवन विज्ञानलगायतका संस्थालाई के–कस्ता सहयोग आवश्यक छ, त्यो सहयोग गर्न प्रदेश सरकार तयार छ, बागमती प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्ने तयारीमा छौँ, त्यसका लागि तपाईंहरू पनि लाग्नुस् ।”

मुख्यमन्त्री थापाले प्रदेश सरकारले प्रदेशस्तरीय योग समिति गठन गरिसकेको र त्यसको व्यवस्थापनका लागि कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक भवन, विद्यालय तथा सामुदायिक भवनलगायतका स्थानमा बिहानको समयमा योग साधना सञ्चालन गर्ने कार्यक्रमसमेत अघि बढाइएको छ ।

प्रदेश सरकारले यस वर्ष जनस्वास्थ्य कार्यालयमार्फत योग प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले योग क्षेत्रमा सक्रिय संस्थाहरूसँग सहकार्य गरेर उक्त बजेट परिचालन गरिने बताउनुभयो । “प्रदेश सरकारले यस वर्ष जनस्वास्थ्य कार्यालयमार्फत योगका लागि केही बजेट राखेको छ, त्यो बजेट पातञ्जल योग, पतञ्जली योग, जीवन विज्ञानलगायत योग क्षेत्रमा सक्रिय संस्थाहरूमार्फत योगको विकासका लागि खर्च गरिनेछ,” उहाँले भन्नुभयो ।

डोलेश्वर महादेव मन्दिर क्षेत्रमा योग साधनाका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले धर्मशाला निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बागमती प्रदेश सरकारले डोलेश्वर महादेव मन्दिरमा धेरै संरचना निर्माण गरेको छ, अब एउटा धर्मशाला बन्न बाँकी छ, त्यसका लागि डीपीआर बन्दै छ, यस वर्ष प्रदेश सरकारबाट धर्मशाला निर्माणका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौँ, धर्मशाला बनेपछि त्यहाँको हलमा स्थायी रूपमा योग साधना गर्न निकै सहज हुनेछ ।”

भक्तपुर जिल्लाबाटै प्रदेश सरकारको नेतृत्व गरिरहेकाले जिल्लाको विकास, शिक्षा, स्वास्थ्य तथा योग साधनाका क्षेत्रमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू स्वास्थ्य मन्त्री रहँदा सिपाडोलको डोलेश्वरबाट पाटीभञ्ज्याङ जाने सडक निर्माणका लागि १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको स्मरण गर्दै उहाँले यस वर्ष डोलेश्वरदेखि आशापुरीसम्म धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १४ करोड रुपैयाँ बजेट विनियोजन गरी सडक निर्माणको ठेक्का प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

उक्त सडक निर्माणका क्रममा आफूले भोग्नुपरेको चुनौती स्मरण गर्दै मुख्यमन्त्री थापाले भन्नुभयो, “डोलेश्वर–आशापुरी सडक मैले जिल्ला विकास समितिको सदस्य हुँदा खनेको हुँ, तत्कालीन विद्रोही पक्षले बाटो बनाउँदा मलाई सिध्याउन खोजेका थिए, त्यो बाटो बनाउँदा जग्गा पर्नेहरूले खुर्पाले हान्दा नसमातेको भए के हुन्थ्यो होला ? त्यति दुःख गरेर खनेको बाटो हो त्यो, जनतासँग प्रत्यक्ष जोडिएर विकास गरिएको हो, अहिले सामाजिक सञ्जालमा केही गरेन भन्ने प्रचार भइरहेको छ ।”

स्थानीय तहको निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै उहाँले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने नेतृत्वलाई आगामी निर्वाचनमा छनोट गर्नुपर्ने धारणा राख्नुभयो । “कोठामा बसेर फेसबुक चलाएर केही भएन भनेर स्टाटस लेख्ने व्यक्तिले निर्वाचन जितेर आए भने जनतासँग जोडिएर काम गर्न सक्दैनन्,  त्यसैले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने व्यक्तिलाई छनोट गर्नुपर्छ भन्ने कुरामा तपाईंहरूले ख्याल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेत, पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल तथा केन्द्रीय महासचिव नवराज काफ्लेलगायतले योगमय प्रदेश हुँदै योगमय देश घोषणा गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताउनुभएको थियो ।