जनता टाइम्स

३० कार्तिक २०८३, सोमबार ११:४९

मंसिरमा निक्षेपको ब्याजदर घटाउँदै ६ बैंक, बढाउनेमा एउटा पनि छैनन्


काठमाडौं, कात्तिक ३०। वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ ब्याजदरअनुसार बैंकहरू निक्षेपको ब्याज बढाउनेभन्दा घटाउने र यथावत् राख्ने रणनीतिमा देखिएका छन्। 

२० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ वटाले घटाएका छन्। ब्याजदर बढाउने बैंक भने कुनै छैनन्।

नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंकको स्थान सानिमा बैंकले कायमै राखेको छ। सानिमाले कात्तिक महिनाकै अधिकतम ४.५ प्रतिशत ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएको छ। एनएमबि र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशतसम्म ब्याज दिने भएका छन्।

व्यक्तिगत निक्षेपमा सबैभन्दा कम अधिकतम ब्याजदर माछापुच्छ्रे बैंकको छ। बैंकले ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। त्यस्तै, कुमारी बैंकले ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले ३.६५ प्रतिशत ब्याज दिने भएका छन्।

संस्थागत निक्षेपतर्फ पनि सानिमा बैंक नै सबैभन्दा अगाडि छ। बैंकले ३.५१ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल बैंकले ३.५ प्रतिशत तथा एभरेष्ट, लक्ष्मी सनराइज, हिमालयन र एनएमबि बैंकले ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

यता कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नबिल, सिटिजन्स, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र प्रभु बैंकले संस्थागत निक्षेपमा समान २.७५ प्रतिशत ब्याजदर तोकेका छन्।

६ बैंकले घटाए व्यक्तिगत निक्षेपको ब्याज

मंसिरमा ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे, कृषि विकास, एनएमबि, लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्। यी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा कटौती गरेका हुन्।

माछापुच्छ्रे बैंकले सबैभन्दा ठूलो कटौती गर्दै ब्याजदर ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ। कृषि विकास बैंकले ४.१५ प्रतिशतबाट ३.६५ प्रतिशतमा र एनएमबि बैंकले ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा झारेको छ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट ३.७५ प्रतिशत, कुमारी बैंकले ३.७ प्रतिशतबाट ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७ प्रतिशतबाट ३.६५ प्रतिशत कायम गरेका छन्।

संस्थागत निक्षेपतर्फ भने एनएमबि बैंकले मात्रै ब्याजदर घटाएको छ। बैंकले न्यूनतम ब्याजदर ३.५० प्रतिशतबाट ३.२५ प्रतिशतमा झारेको हो।

एकवर्षे मुद्दतीमा अधिकांशको ब्याज २.७५ प्रतिशत

बैंकहरूले सार्वजनिक गरेका अधिकतम ब्याजदर सामान्यतया पाँच वर्ष वा सोभन्दा बढी अवधिका मुद्दती निक्षेपमा लागू हुने दर हुन्। एक वर्ष अवधिको मुद्दती निक्षेपमा भने अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

यो दर नेपाल राष्ट्र बैंकले कायम गरेको ब्याजदर करिडोरको तल्लो सीमासँग मेल खान्छ। समग्रमा मंसिर महिनाको ब्याजदरले बैंकहरूमा निक्षेप आकर्षित गर्न ब्याज बढाउने प्रतिस्पर्धा नरहेको देखाएको छ। बरु अधिकांश बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् भने केहीले ब्याजदर थप घटाएका छन्।