काठमाडौं, कात्तिक २९ । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङ तथा दिनेश खरेलको उत्कृष्ट बलिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा पोखराले कीर्तिमानी ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो। एनपीएल इतिहासकै सर्वाधिक योगफल बनाएको पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमान्डु १९ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनमा समेटियो।
काठमान्डुका लागि ओपनर साहित पटेलले सर्वाधिक ३४ रन बनाए। रासिद खानले ३१ रन जोड्दा सोनु देवकोटाले २९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले लिग चरणको अन्तिम खेलमा कीर्तिमानी प्रदर्शन गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सात खेलमा दोस्रो जित निकालेको पोखराले चार अंकसहित सातौँ स्थानमा रहेर लिग चरण पूरा गर्यो।
उता, यो हारले काठमान्डुको क्वालिफायर पुग्ने सम्भावनामा धक्का लागेको छ। सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेको काठमान्डु तेस्रो स्थानमा रहँदै अब एलिमिनेटर खेल्नुपर्ने भएको छ। काठमान्डुले बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ।
साविक विजेता लुम्बिनी लायन्स ११ अंकसहित पहिलो र सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका छन्। यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुनेछ।
२२५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डुको सुरुवात राम्रो हुन सकेन। ओपनर भीम सार्की टोलीको स्कोर १२ रन हुँदा दोस्रो ओभरमै आउट भए।
त्यसपछि स्मित पटेल र विलियम बोसिस्टोले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। तर पोखराका दिनेश खरेलले आठौँ ओभरको अन्तिम बलमा पटेललाई आउट गर्दै साझेदारी तोडे। पटेलले २३ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए।
बोसिस्टो पनि दशौँ ओभरमा खरेलकै बलमा आउट भए। उनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ रन जोडे। सहान अराचिगे एक रनमै आउट भएपछि काठमान्डु ८६ रनमा पाँच विकेट गुमाएर दबाबमा परेको थियो।
त्यसपछि रासिद खान र जहानदाद खानले ४४ रनको साझेदारी गर्दै टोलीलाई उकास्ने प्रयास गरे। तर रमेश मेन्डिसले १५औँ ओभरमा जहानदादलाई आउट गर्दै उक्त साझेदारी तोडे। जहानदादले १२ बलमा तीन छक्कासहित २४ रन बनाए।
रासिदले २० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३१ रन जोडे। त्यसपछि सन्तोष यादव र कप्तान करण केसी खाता नखोली आउट भए भने सुमित महर्जनले तीन रन मात्र बनाउन सके।
अन्तिम विकेटका रूपमा आउट भएका सोनु देवकोटाले अन्तिम ओभरमा युवराज सम्राविरुद्ध लगातार चार छक्का प्रहार गर्दै २९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।
बलिङमा पोखराका दिनेश खरेलले चार ओभरमा १८ रन खर्चेर चार विकेट लिए। बिपिन खत्रीले चार ओभरमा २८ रन दिँदै तीन विकेट लिए। रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङमा एनपीएल इतिहासकै सर्वाधिक २२४ रन बनाएको थियो।
पोखराले यसअघि विराटनगर किंग्सले बनाएको २२० रनको कीर्तिमान तोडेको हो। विराटनगरले दोस्रो संस्करणमा पोखराविरुद्ध उक्त योगफल बनाएको थियो।
यससँगै पोखरा एउटै सिजनमा दुई पटक २०० भन्दा बढी रन बनाउने एनपीएल इतिहासकै पहिलो टोली बनेको छ। यसअघि पोखराले कर्णाली याक्सविरुद्ध २१७ रन बनाएको थियो।
पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट मात्र एक रनले चुके। उनले ५१ बलमा आठ चौका र आठ छक्काको मद्दतमा अविजित ९९ रन बनाए। ओपनर युवराज सम्राले ५५ बलमा आठ चौका र पाँच छक्कासहित ८९ रन जोडे।
ओपनर अर्जुन कुमाल पाँच रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि क्रिजमा आएका कुशलले युवराजसँग मिलेर आक्रामक ब्याटिङ गरेका थिए। दुवैले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे।
एनपीएल इतिहासमा यो अहिलेसम्मकै ठूलो साझेदारी हो। यसअघि सन् २०२४ मा सम्पन्न पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।
कप्तान चमिका करुणारत्नेले सात बलमा एक चौका र दुई छक्कासहित अविजित १९ रन बनाए। धनञ्जय लक्षण दुई रनमा अविजित रहे।
काठमान्डुका कप्तान करण केसीले १९औँ ओभरमा कुशल र युवराज दुवैलाई आउट गरेका थिए। करणले दुई विकेट लिँदा जहानदाद खानले एक विकेट हात पारे।














प्रतिक्रिया दिनुहोस्