काठमाडौं, कात्तिक २९ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । तर, जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न असफल भएको छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनले भने लिग चरणको खेलमा हार बेहोरेको छ ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो ।
चितवनका लागि उसामा मिरले अविजित २८ रन बनाए । कामिल मिश्राले २५, कुशल मल्लले १८ तथा देव खनालले १४ रनको योगदान दिए ।
कर्णालीका हुसैन तलातले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । पवन सर्राफ र मार्क वाटले समान दुई–दुई विकेट हात पारे भने सोमपाल कामीले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
कर्णालीका लागि हुसैन तलातले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।
चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले समान दुई–दुई विकेट लिए । सिकन्दर रजा र रिजन ढकालले एक–एक विकेट हात पारे ।
जितसँगै कर्णालीले प्रतियोगिताको अन्तिम खेलमा सुखद अन्त्य गरेको छ । तर, यो जित उसका लागि प्लेअफ यात्रा तय गर्न पर्याप्त हुन सकेन ।














प्रतिक्रिया दिनुहोस्