काठमाडौं, कात्तिक २९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै छठ पर्वलाई शुद्धता, संयम र निष्ठाको पावन पर्वका रूपमा उल्लेख गर्नुभएको छ। सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गरिने यस पर्वले धार्मिक आस्थासँगै सामाजिक तथा सांस्कृतिक एकताको सन्देश दिने उहाँले बताउनुभएको छ। उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, “छठ उत्सवको शुभकामना ! शुद्धता, संयम र निष्ठाको यस पावन पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दछ।”
छठ पर्वले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउनुका साथै समाजमा आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष ओलीको भनाइ छ। उहाँले भन्नुभएको छ, “प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ।”
त्यसैगरी, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने छठ पर्वको विशिष्ट परम्परालाई जीवनप्रतिको कृतज्ञता र नयाँ आशासँग जोड्दै अध्यक्ष ओलीले दुवै अवस्थालाई समान महत्त्वका साथ स्मरण गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस्।”
अध्यक्ष ओलीले छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको वातावरण निर्माण गरोस् भन्ने कामना गर्दै पुनः सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “छठ पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना!”














प्रतिक्रिया दिनुहोस्