जनता टाइम्स

२९ कार्तिक २०८३, आइतबार ०९:३६

छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र नयाँ आशाको सञ्चार गरोस् : कांग्रेस सभापति गगन थापा


काठमाडौं, कात्तिक २९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको उल्लेख गर्नुभएको छ। उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, “सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना!”

छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै सभापति थापाले ऋग्वेदमा उषा देवीको अत्यन्त सुन्दर स्तुति गरिएको बताउनुभएको छ। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा समेत प्रतिबिम्बित हुँदै आएको उहाँको भनाइ छ। “छठ पर्वको आध्यात्मिक आधार हाम्रो प्राचीन वैदिक परम्परासँग जोडिएको छ। ऋग्वेदकोमा उषा देवीको अत्यन्त सुन्दर स्तुति गरिएको छ। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ”, उहाँले सन्देशमा लेख्नु भएकाे छ । 

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता तथा अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा प्रदान गर्ने उहाँले उल्लेख गर्नुभएको छ। सभापति थापाले आफ्नो सन्देशमा भन्नुभएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यो पर्वले हामीलाई प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ।”

छठ पर्वले सामाजिक सद्भाव, एकता र सकारात्मक सोचको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “यस पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस्। छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस्।”