बर्दिया, कात्तिक २८ । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
आज दिउँसो करिब १ः४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको CHO1CM9437 नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। ठक्करपछि बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ घर भएका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार नामथर तथा वतन नखुलेका अन्दाजी ५५ देखि ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्याइएकोमा चिकित्सकले क्रमशः दिउँसो २ः१३ र २ः०९ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्