जनता टाइम्स

२८ कार्तिक २०८३, शनिबार २०:४८

अदालतबाट न्याय हुन्छ, कांग्रेस पार्टी हाम्रै रहन्छ : शेरबहादुर देउवा


काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूलाई न्याय हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शनिबार पार्टीकाे ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै निवर्तमान सभापति देउवाले अदालतले निष्पक्ष निर्णय गर्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले नेपाली कांग्रेस आफ्नो पार्टी भएको दाबी गर्दै पार्टीको आधिकारिकता अन्यत्र नजाने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ, यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन ।”

देउवाले राजाको शासनकालमा समेत अदालतले निष्पक्ष फैसला गर्ने गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा अदालतले निष्पक्ष न्याय गर्न नसक्ने कुनै कारण नरहेको प्रश्नसमेत गर्नुभयो । विशेष महाधिवेशन र त्यसबाट गगन थापाको नेतृत्व चयन भएको विषयमा असन्तुष्टि व्यक्त गर्दै देउवाले आफू पार्टी सभापति हुँदाहुँदै कुनै परामर्श र जानकारीबिनै विशेष महाधिवेशन गरिएको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो, “पार्टी सभापति मै छु, मलाई थाहै छैन, विशेष महाधिवेशन गरेर गगन थापा सभापति भइसक्नुभएको रहेछ ।”

त्यस्तै, देउवाले जेनजी आन्दोलनका क्रममा आफूहरूमाथि भएको आक्रमणबारे पनि चर्चा गर्नुभयो । उक्त घटनामा आफू गम्भीर घाइते भएको उल्लेख गर्दै उहाँले सुरक्षाकर्मीको उपस्थिति नभएको भए आफ्नो ज्यानसमेत जान सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाकर्मी नभएको भए मलाई मारिसकेका हुन्थे, मेरो टाउकोमा गम्भीर चोट लागेको थियो ।”

देउवाले जेनजी आन्दोलनका नाममा आफूहरूमाथि षड्यन्त्र गरिएको आरोप लगाउनुभयो । उहाँले उक्त घटनामा आफूले गम्भीर शारीरिक क्षति बेहोर्नुपरेको बताउनुभयाे ।