काठमाडौं, कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तनको अनुभूति गराउन नसके आगामी निर्वाचनमा आफू भोट माग्न नआउने घोषणा गर्नुभएको छ ।
शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका सभापति लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै मधेशका जनताले पार्टीप्रति देखाएको आशा, भरोसा र विश्वासलाई निराशामा परिणत हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक मधेशका जनताले हामीलाई ठूलो अवसर दिनुभएको छ, यो अवसरलाई सदुपयोग गरेर उहाँहरूको जीवनमा परिवर्तन ल्याउन सकिएन भने म अर्को पटक भोट माग्न आउँदिनँ, जनतालाई झुक्याएर भोट माग्ने राजनीति मलाई आवश्यक छैन ।”
सभापति लामिछानेले वर्तमान अवसर कुनै व्यक्ति वा नेताको राजनीतिक स्वार्थ पूरा गर्न नभई मधेशका जनताको मुहारमा खुसी ल्याउन र उनीहरूको जीवनस्तरमा परिवर्तन गर्न प्राप्त भएको उल्लेख गर्नुभयो । जनताको मतको सम्मान गर्दै उनीहरूका अपेक्षा पूरा गर्न पार्टीका नेता तथा कार्यकर्ताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जनताले दिएको मतको अपमान गर्ने, आफ्ना मान्छेलाई मात्रै अवसर दिने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने जनताले हामीलाई दिएको समर्थन फिर्ता लिन धेरै समय लगाउनुहुने छैन । त्यसैले जनतासँग जति बोलिएको छ, त्यति नै काम गरेर देखाउनुपर्छ ।”
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको पनि स्पष्ट पार्नुभयो । सरकारका कामकारबाहीबारे पार्टीभित्र हुने आलोचना, सुझाव र बहसलाई फुटको संकेतका रूपमा व्याख्या नगर्न उहाँले आग्रह गर्नुभयो ।
सरकारले गरेका केही काममा त्रुटि देखिएमा पार्टीले सुझाव र आलोचना गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले त्यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ सरकारले गरेका काममा सुझाव दिँदा वा आलोचना गर्दा ठूलो हल्लाखल्ला हुने गरेको छ तर त्यस्ता हल्लामा विश्वास गर्नुपर्ने कुनै आधार छैन, रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीभित्र पक्ष र विपक्षमा हुने बहस तथा आलोचनालाई हामी सकारात्मक रूपमा लिन्छौँ ।”
सभापति लामिछानेले सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न निरन्तर काममा जुटिरहेको दाबी गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई लिएर बाहिर विभिन्न भाष्य निर्माण गरिनु उचित नभएको बताउनुभयो ।
सरकारले छठ पर्वलाई महत्व दिँदै सार्वजनिक बिदा दिने निर्णय गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पर्व, संस्कृति र जनताको भावनालाई सम्मान गर्ने विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो ।
उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई जनताले दिएको अवसरलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर काम गर्न र उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नसमेत आग्रह गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्