जनता टाइम्स

२८ कार्तिक २०८३, शनिबार १५:५१

पार्टी बदल्दिनँ भोट बदल्छु भन्ने बेइमान कुरा एमालेमा सुहाउँदैन, भोट बदल्नु अघि पार्टी नै बदल्नु  : केपी ओली


काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आबद्ध भएर आफ्नै पार्टीको मत बदल्ने प्रवृत्तिलाई सबैभन्दा घातक र बेइमानीपूर्ण व्यवहारको संज्ञा दिनुभएको छ । उहाँले पार्टीमा रहने तर निर्वाचनमा अर्को दललाई मत दिने प्रवृत्ति अब सह्य नहुने चेतावनीसमेत दिनुभएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सदस्य भएर पार्टीकै विरुद्धमा मत दिने कुरा राजनीतिक इमानदारीविपरीत भएको बताउनुभयो । गएको निर्वाचनमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो । ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ, पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन, भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो,’ उहाँले भन्नुभयो ।

पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताबाटै आफ्नै पार्टीविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम हुने गरेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । अब यस्ता गतिविधि देखिएमा चुप लागेर नबस्न निर्देशन दिँदै उहाँले जिल्लास्तरबाटै कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । ‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस्, त्यहीँबाट कारबाही गरेर केन्द्रमा जानकारी पठाउनुस्,’ उहाँले भन्नुभयो । केन्द्रले पनि जानकारीका आधारमा छानबिन गरी आवश्यक कारबाही गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले एमाले विचार, संगठनात्मक अनुशासन र एकताका आधारमा चल्नुपर्नेमा जोड दिनुभयो । जिल्ला, पालिका र वडा तहसम्म बैठक आयोजना गरेर आपसी असमझदारी हटाउन तथा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेता तथा कार्यकर्ताहरू जनतामाझ पुग्न नसकेको भन्दै उहाँले संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । जनतामाझ पुगेर पार्टीको विचार, सदाचार र इमानदारी स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो ।

फागुन २१ गते भएको निर्वाचनमा पार्टीका संगठित सदस्यको संख्याभन्दा कम मत प्राप्त भएको विषयमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीले अबको ध्यान स्थानीय तह र प्रदेशसभा निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिनुभयो । बागमती प्रदेशमा गएको निर्वाचनमा अप्रत्याशित पराजय बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा त्यस्तो अवस्था दोहोरिन नदिन सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

गएको निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपर्नाका प्रमुख कारण आपसी अनेकता, द्वेष र बेइमानी रहेको उहाँको निष्कर्ष थियो । ‘विगतमा हाम्रो पराजयको प्रमुख कारण अनेकता, आपसमा विद्वेष र बेइमानी हो,’ उहाँले भन्नुभयो, ‘नेकपा एमालेका कार्यकर्ताले इमान राख्न सक्दैन भने इमान खोज्न कहाँ जाने ? एमाले भनेपछि इमान र पार्टीप्रतिको निष्ठामा पक्का हुनुपर्छ नि ।’

आफ्नो स्वार्थ पूरा नभए पार्टीभित्रै असहयोग गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उहाँले यसपटक कुनै पनि गल्ती नगर्न नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो । ‘आफ्नो स्वार्थअनुसार भएन भने जे पनि गरिदिने, हामी अरूलाई आलोचना गर्दा गर्दै हाम्रो अन्तरदृष्टि के भइरहेको छ ? यसपटक हामीले कुनै भूलचुक गर्नु हुँदैन, कुनै गल्ती गर्नु हुँदैन, पार्टीलाई जिताउनुपर्छ,’ उहाँले भन्नुभयो ।

पार्टीलाई व्यवस्थित, अनुशासित र एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले एमालेसँग प्रतिस्पर्धा गरेर जित्ने दाबी गर्नेहरूलाई संगठनको वास्तविक शक्ति देखाउनुपर्ने धारणा राख्नुभयो । ‘बिना पार्टीको हामीसँग मुकाबिला गरेर जित्छौँ भनेर आइरहेका छन्, हाम्रो पार्टी पार्टीजस्तो होइन, पार्टीजस्तो हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

यसैबीच, अध्यक्ष ओलीले मंसिर २ र ३ गते आयोजना हुन लागेको पार्टीको राष्ट्रिय भेलाबारे जानकारी दिँदै केन्द्रीय कमिटीले निकालेका निष्कर्ष र सर्वसम्मत रूपमा पारित प्रतिवेदनका आधारमा पार्टी अघि बढ्ने बताउनुभयो । ‘पार्टी केन्द्रीय कमिटीले निकालेका निष्कर्ष, पारित गरेको सर्वसम्मत प्रतिवेदन र त्यस प्रतिवेदनका आधारमा हामी अगाडि बढ्ने हो,’ उहाँले भन्नुभयो ।

हालका लागि पार्टीले दुई कार्यभार र १५ वटा काम निर्धारण गरेको उल्लेख गर्दै उहाँले विगतका कामको समीक्षा गरी निर्धारित कार्यदिशाअनुसार अघि बढ्ने बताउनुभयो ।