जनता टाइम्स

२८ कार्तिक २०८३, शनिबार ०७:३७

कोपमा सहभागी हुनेहरूले भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्छ : रास्वपा सांसद गणेश कार्की


काठमाडौं, कात्तिक २८ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले आफ्नो भ्रमण खर्चको स्रोत सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले कोपमा सहभागी हुनेहरूले सरकारी खर्चमा भ्रमण गरेका हुन् वा व्यक्तिगत तथा संस्थागत प्रायोजनमा पुगेका हुन् भन्ने विषय स्पष्ट पार्नुपर्ने बताउनुभएको हो ।

उहाँले कोपमा सहभागी हुनेहरूको सङ्ख्या प्रत्येक वर्ष उल्लेख्य हुने गरेको र कतिपय व्यक्ति व्यक्तिगत खर्चमा तथा कतिपय विभिन्न संस्थाको प्रायोजनमा सम्मेलनमा पुग्ने गरेको उल्लेख गर्नुभएको छ ।

वातावरणका विद्यार्थीका लागि कोपमा सहभागी हुनु सिक्ने र बुझ्ने महत्वपूर्ण अवसर भए पनि व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न नहुने उहाँको भनाइ छ । सांसद कार्कीले लेख्नुभएको छ, ‘हामी वातावरणका विद्यार्थीहरू कोपका बारेमा यति धेरै पढ्छौँ कि एकपटक गएर हेरौँ भन्ने चाहना हुन्छ । देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन ।’

उहाँले निर्णय वा छलफलको प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने व्यक्तिहरूका लागि कोपमा नगए पनि त्यहाँका विषयवस्तु बुझ्न र जानकारी लिन नसकिने अवस्था नरहेको बताउनुभएको छ । यसपटक पनि कोपमा सहभागी हुन जानेहरूको लर्को लागेको उल्लेख गर्दै सांसद कार्कीले वातावरणका विद्यार्थी र सांसदसमेत भएकाले काेपमा सहभागी हुन पुगेका तथा पुग्ने तयारीमा रहेका धेरै व्यक्तिलाई आफूले देखेको बताउनुभएको छ ।

उहाँले कोपमा सहभागी हुने सबैलाई आफूहरू सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक रूपमा घोषणा गर्न आग्रह गर्नुभएको छ । ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून् । गर्नैपर्छ,’ उहाँले लेख्नुभएको छ ।