जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार १९:४९

भीमफेदी दुर्घटनाका मृतकको शव परीक्षण गराउन आफन्त सहमत, जनही १० लाख क्षतिपूर्तिसहित तीन माग


हेटौँडा, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन् ।

मधेस प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो ।

छलफलका क्रममा पीडित परिवारले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मेवारी सरकारले लिनुपर्ने माग राखेका छन् । उनीहरूले आफ्ना माग सात दिनभित्र सम्बोधन हुनुपर्ने अडानसमेत राखेका छन् ।

मृतकका आफन्तले राखेका माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याएर सम्बोधनका लागि आवश्यक पहल गर्ने आश्वासन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले दिएपछि शव परीक्षण गर्न सहमति जुटेको बताइएको छ ।

सहमति जुटेसँगै १३ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइने भएको छ । शव परीक्षण सम्पन्न भएपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि सर्लाही लैजाने तयारी गरेका छन् ।

दुर्घटनामा १४ जनाको ज्यान गएपछि शोकमा रहेका पीडित परिवारले क्षतिपूर्ति, रोजगारी तथा घाइते बालबालिकाको शिक्षा र भविष्य सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन् ।