काठमाडौं, कात्तिक २७ । मधेस प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा भएको भीषण सडक दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको हो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउनुका साथै दुर्घटनामा घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ । घाइतेहरूको मधेस प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था मिलाउने बैठककाे निर्णय छ ।
बैठकले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले कात्तिक २८ गतेदेखि मधेस प्रदेशसभाको बैठक सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री यादवले भाेलि प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नु भएकाे छ । एमालेले समर्थन फिर्ता लिएपछि राजनीतिक समीकरणमा आएको परिवर्तनका बीच मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएकाे हाे ।














प्रतिक्रिया दिनुहोस्