जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार १६:२१

एनपीएल :  काठमान्डु गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा


काठमाडौं, कात्तिक २७। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ यात्रा सुनिश्चित गरेको छ।

आज सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली बनेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ्स खेले। थरिन्दु रत्नायकेले अविजित २६ रन जोड्दा आरिफ शेखले १६ रन बनाए।

सुदूरपश्चिमका ओपनर स्कट कुगलेइन ६ र विनोद भण्डारी १ रनमा आउट भए। त्यसपछि आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डेले खाता नै खोल्न सकेनन्। दुवैलाई काठमान्डुका सन्तोष यादवले पभेलियन फर्काए।

चार विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई कप्तान ऐरी र आरिफ शेखले सम्हाल्ने प्रयास गरे। शेख १६ रनमा रनआउट भएपछि टोली फेरि दबाबमा परेको थियो। तर, ऐरीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए।

बलिङतर्फ काठमान्डुका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए।

१२६ रनको सामान्य लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमात्र बनाउन सक्यो। जितका लागि अन्तिमसम्म संघर्ष गरे पनि काठमान्डु लक्ष्यभन्दा ७ रनले पछि रह्यो।

काठमान्डुका लागि राशिद खानले अविजित ३५ रन बनाए। दुशान हेमन्तले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

सुदूरपश्चिमका बलर अनिल खरेलले दुई विकेट लिए भने फाबियन एलेन, स्कट कुगलेइन र हेमन्त धामीले समान एक विकेट हात पारे।

यस जितसँगै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसअघि साविक विजेता लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ।