जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार १४:१८

इलामेली युवाले प्रेमिकाकै ‘प्रेम सम्बन्धका गोप्य’ तस्बिर र भिडियो सार्वजनिक गरेपछि


काठमाडौं, कात्तिक २१ । प्रेम सम्बन्धमा रहँदाका गोप्यता भंग गरेपछि इलामका एक युवा प्रहरीको फन्दामा परेका छन । घणिष्ट प्रेम सम्बन्धका बेला खिचिएका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राईलाई पक्राउ गरिएको जनाएको छ । राईले एक महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका गोप्य तस्बिर र भिडियोहरू सामाजिक सञ्जाल ‘टेलिग्राम’ मार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले दिएको उजुरीका आधारमा खटिएको ब्युरोको टोलीले प्राविधिक अनुसन्धान तथा विश्लेषणपछि कात्तिक १९ गते काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट राई पक्राउ गरेको थियो ।

त्यसैगरी, प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्वीटर) मार्फत अश्लील भिडियो तथा तस्बिर सार्वजनिक गरिदिने धम्की दिने अर्का एक व्यक्ति पनि पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डेलाई महिलाको चरित्र हत्या गरेको आरोपमा ब्युरोले कात्तिक १९ गते नै काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो । पाण्डेले आफूसँग अश्लील भिडियो र तस्बिर रहेको भन्दै पीडितलाई धम्काउने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिपक राज अवस्थीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

अदालतले अनुसन्धानका लागि विकल्प राईलाई ५ दिन र सुजन पाण्डेलाई ४ दिनको म्याद दिएको छ र हाल यस विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोको भनाई छ ।