जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार ११:४०

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको यस्तो छ तयारी


काठमाडौं, कात्तिक २१ । नेपाल विद्युत् प्राधिकरणले तिहार र छठ पर्वमा नियमित तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ ।

प्राधिकरणले लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरेको छ । तर, यस अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट हुने प्रक्षेपण गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आन्तरिक उत्पादनबाटै पर्वका लागि आवश्यक विद्युत् पर्याप्त हुने बताउनुभएको छ ।

उहाँले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।

विद्युत् अवरुद्ध भए तत्काल मर्मतसम्भार गर्न प्राविधिक टोली तयारी अवस्थामा राख्ने, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्ने कामलाई तीव्रता दिन पनि निर्देशन दिइएको छ ।

त्यस्तै, विद्युत् सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउन प्राधिकरणले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ ।