जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार ०७:३१

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं, कात्तिक २१ । आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य स्थानमा भने मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

भोलि लक्ष्मीपूजाका दिन दिनभर मौसम सामान्यतया घमाइलो रहने भए पनि बेलुका कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली र हल्का वर्षाको सम्भावना छ ।

मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार भोलि बेलुका जुम्ला, कालिकोट, रुकुम पूर्व, रुकुम पश्चिम र बागलुङमा हल्का वर्षा हुन सक्नेछ । तिहारका बाँकी दिनमा भने मौसम घमाइलो रहने अनुमान गरिएको छ ।