काठमाडौं, कात्तिक २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रेस, प्रहरी र अदालतलगायत राज्यका संस्थाहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ ।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उहाँले राज्यका संस्थाहरू कमजोर भए समग्र देश र लोकतन्त्र नै कमजोर हुने बताउनुभयो । अदालतका विषयमा हल्का टिप्पणी गर्दा न्यायालयको गरिमा कमजोर हुने उहाँको भनाइ थियो ।
लामिछानेले प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिनुभयो । अनुसन्धानमा राजनीतिक वा अन्य कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने उहाँले बताउनुभयो ।
भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुअघि पर्याप्त अनुसन्धान र प्रमाण जुटाउनुपर्ने उल्लेख गर्दै उहाँले अनुसन्धान यति बलियो हुनुपर्ने बताउनुभयो कि दोषी अदालतबाट छुटेर घर फर्कने अवस्था नआओस् ।
चुनावका बेला भ्रष्टाचारीलाई जेल हाल्ने प्रतिबद्धता गरे पनि त्यसको अर्थ मन नपरेका व्यक्तिलाई पक्राउ गर्नु नभएको उहाँको स्पष्टोक्ति थियो । विधिको शासन र कानुनी प्रक्रियामार्फत अनुसन्धान गरेर बेथितिको अन्त्य गर्ने उहाँले बताउनुभयो ।
लामिछानेले भ्रष्टाचारीमा राज्यको त्रास र सर्वसाधारणमा राज्यप्रति भरोसा हुनुपर्ने धारणा राख्नुभयो । पार्टीले सरकारका काममा बाधा सिर्जना नगर्ने र नागरिकको सेवामा काम गर्न सहयोग गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।














प्रतिक्रिया दिनुहोस्