जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार ०७:३५

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै


काठमाडौं, कात्तिक २१ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको स्मरणमा प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन यो दिवस मनाउने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्रयोदशी तिथिमै धन्वन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

वैदिक तथा सनातन हिन्दू धर्मग्रन्थमा समुद्र मन्थनका क्रममा कात्तिक कृष्ण त्रयोदशीका दिन भगवान् धन्वन्तरी अमृत कलशसहित प्रकट भएको उल्लेख छ । आयुर्वेद चिकित्सकहरूले आजको दिनलाई शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गरेका छन् ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । यस अवसरमा भगवान् धन्वन्तरीको पूजा, आराधना तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरिँदैछ ।

सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद अस्पताल, आयुर्वेद क्याम्पस कीर्तिपुरलगायत देशका विभिन्न आयुर्वेदिक संस्था तथा अस्पतालमा विशेष कार्यक्रम हुँदैछन् ।

यसैबीच, पछिल्लो समय आयुर्वेदिक औषधिको माग विगतको तुलनामा चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।