जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार ०७:२४

भोटेकोशी बाढीको पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने, गरिबी दर २.७ प्रतिशत विन्दुले बढ्ने


काठमाडौं, कात्तिक २१ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित क्षेत्रको पुनर्स्थापना र आर्थिक गतिविधि पुरानै अवस्थामा फर्काउन ७ खर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने भएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार गत भदौ १० गतेको बाढीले देशको अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । पुनर्निर्माण तथा पुनरुत्थानका लागि भने ७ खर्ब ६ अर्ब ६५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

बाढीबाट सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा क्षति पुगेको छ । यस क्षेत्रमा २ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । पूर्वाधार पुनर्निर्माणका लागि मात्रै ३ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ आवश्यक पर्ने आयोगको अनुमान छ ।

त्यस्तै, कृषि, पशुपालन, उद्योगलगायत उत्पादनशील क्षेत्रमा १ खर्ब ३६ अर्ब ३३ करोड रुपैयाँ बराबरको हानि भएको छ । यस क्षेत्रको पुनरुत्थान र पुनर्निर्माणका लागि १ खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ चाहिने प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक क्षेत्रमा ३९ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५७ अर्ब ७७ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ । भूमि, वन, जैविक विविधता तथा वातावरण क्षेत्रमा पनि ७७ अर्ब ११ करोड रुपैयाँ बराबरको असर परेको छ ।

बाढीले प्रभावित परिवारको आम्दानी र जीविकोपार्जनमा गम्भीर असर पारेकाले गरिबी दर २ दशमलव ७ प्रतिशत विन्दुले बढ्ने आयोगले जनाएको छ । घरपरिवार तथा व्यवसाय विस्थापित हुनु र आयआर्जनका आधार गुम्नुले प्रभावित समुदायको आर्थिक जोखिम थप बढेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले प्रभावित पालिकामा उपभोग र जीविकोपार्जनलाई केन्द्रमा राखेर विशेष कार्यक्रम सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ ।