काठमाडौं, कात्तिक २१ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदैछ ।
कात्तिक कृष्ण त्रयोदशीका दिन कागलाई यमराजको दूतका रूपमा पूजा गरी मीठा खानेकुरा खुवाउने धार्मिक परम्परा छ । यमराजले कागमार्फत लोकको खबर थाहा पाउने धार्मिक विश्वासअनुसार आज कागको पूजा गर्ने चलन रहेको छ ।
यस अवसरमा काठमाडौंको कागेश्वरी महादेव मन्दिरलगायत विभिन्न स्थानमा विशेष पूजा आराधना गरिँदैछ ।
तिथिको घटबढका कारण यस वर्ष यमपञ्चक हिजोदेखि नै सुरु भएको हो । आज काग तिहारसँगै भोलि कुकुर तिहार र लक्ष्मीपूजा मनाइनेछ । कात्तिक २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, म्हपूजा र नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते भाइटीका मनाइनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।














प्रतिक्रिया दिनुहोस्