काठमाडौं, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन सातबुँदे अपिल तथा निर्देशन जारी गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार जारी गरेको निर्देशनमा विधान र आधिकारिक कार्यविधिविपरीत कुनै पनि गतिविधि नगर्न पार्टीका सदस्य, पदाधिकारी, नेतृत्वका आकांक्षी तथा उम्मेदवारहरूलाई आग्रह गरिएको छ।
आयोग प्रमुख भुवन केसीद्वारा हस्ताक्षरित अपिलमा पार्टीका सबै तहमा हुने अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अगाडि बढिरहेका बेला सम्बन्धित सबैलाई निर्देशनको पूर्ण पालना गर्न भनिएको छ।
निर्देशनमा निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख छ। कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।
त्यस्तै, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरी निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रिया प्रभावित पार्ने कार्य स्वीकार्य नहुने जनाइएको छ। सबै योग्य सदस्य तथा आकांक्षीलाई समान अवसर सुनिश्चित गर्नुपर्ने निर्देशनमा उल्लेख छ।
स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे आयोगले विशेष निर्देशन दिएको छ। स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षासहित आवेदन दिनु वा उम्मेदवारको क्लस्टरमा आबद्ध हुनु मात्रै उम्मेदवारीको अन्तिम सुनिश्चितता नहुने आयोगले स्पष्ट पारेको छ।
आवेदन दिएको आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट उम्मेदवारी घोषणा गर्ने तथा प्रचारप्रसार गर्ने कार्यलाई विधिविपरीत भनिएको छ।
नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्यांकन, प्राथमिक निर्वाचनलगायत तोकिएका सबै प्रक्रिया पूरा भएपछि मात्रै पार्टीले अन्तिम उम्मेदवारको निर्णय गर्ने निर्देशनमा उल्लेख छ।
रास्वपाले अधिवेशन हुन बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका पार्टी संरचनालाई अधिवेशनको तयारी र प्रक्रिया अघि बढाउँदा सम्बन्धित माथिल्लो तहका पार्टी नेतृत्व तथा विभागसँग आवश्यक परामर्श र समन्वय गर्न निर्देशन दिएको छ।
सम्बन्धित अधिवेशनको आधिकारिक मिति तथा कार्यतालिका घोषणा नभएसम्म कसैले पनि नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा गर्न वा प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ।
आयोगले निर्वाचन तथा आन्तरिक प्रतिस्पर्धालाई प्रभावित पार्ने उद्देश्यले आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या वा पद र शक्तिको दुरुपयोग गर्न नपाइने स्पष्ट पारेको छ।
आचारसंहिता तथा आधिकारिक निर्देशनविपरीत सामाजिक सञ्जाल वा अन्य माध्यममा सामग्री प्रकाशित तथा साझा गर्नसमेत निषेध गरिएको छ।
निर्देशन उल्लंघन गर्नेलाई उल्लंघनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेज गर्ने, प्रक्रियाबाट निष्कासन गर्ने, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्ने चेतावनी दिइएको छ।
त्यस्तै, आचारसंहिता तथा आधिकारिक निर्देशनविपरीत प्रकाशित वा साझा गरिएका सामग्री तत्काल हटाउनसमेत सम्बन्धित सबैलाई निर्देशित गरिएको छ।
रास्वपाले निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा संगठनात्मक प्रक्रियासँग सम्बन्धित पार्टीका आन्तरिक दस्तावेज, निर्णय, छलफल, पत्राचार, अभिलेख तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न निर्देशन दिएको छ।
आधिकारिक स्वीकृतिबिना यस्ता सूचना सार्वजनिक गर्ने, अनधिकृत व्यक्ति वा निकायसँग साझा गर्ने वा दुरुपयोग गर्ने कार्य निषेध गरिएको आयोगले जनाएको छ।
अपिलमा पार्टीभित्रको लोकतन्त्र र संस्थागत मर्यादा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै पद, पहुँच वा प्रभावका आधारमा कसैले पनि विधानभन्दा माथि रहने छुट नपाउने स्पष्ट सन्देश दिइएको छ।
केन्द्रीय निर्वाचन आयोगले सबैको जिम्मेवार सहभागिता र सहयोगको अपेक्षासहित जारी गरेको उक्त सातबुँदे निर्देशनमा पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई विधान र संस्थागत प्रक्रियाअनुसार अघि बढाउन जोड दिइएको छ।
















प्रतिक्रिया दिनुहोस्