जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार १८:२४

बालेन सरकारलाई डिलाको चेतावनी– राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेसमाथि षड्यन्त्र बन्द गर्नू


काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले कांग्रेसमाथि षड्यन्त्र नगर्न बालेन नेतृत्वको सरकारलाई चेतावनी दिनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले आफ्नो कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो ।

सरकारले कुनै प्रमाणबिना १८ करोड रुपैयाँको डिल भएको भाष्य खडा गरेर कांग्रेस सभापति गगन थापालाई बदनाम गर्न खोजेको उहाँको आरोप छ । आफ्ना कमजोरी लुकाउन थापालाई पक्राउ गर्ने हल्ला फैलाइएको पनि उहाँले बताउनुभयो ।

राणा शासन, पञ्चायत र राजासँग नडराएको कांग्रेस अहिलेको सरकारसँग नडराउने भन्दै संग्रौलाले यस्ता षड्यन्त्र बन्द गर्न चेतावनी दिनुभयो ।

उहाँले न्यायालय, प्रहरी र सञ्चारजगत्माथि सरकारी हस्तक्षेप बढेको आरोप लगाउँदै यसले लोकतन्त्रमाथि नै संकट निम्त्याउन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।