जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार १८:०६

१८२ सिट पाएपछि मात्तिएका छौँ, भुइँमा खुट्टा छैन : रवि लामिछाने


काठमाडौं, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले १८२ सिट जितेपछि पार्टीका नेता तथा कार्यकर्ता मात्तिएको टिप्पणी गर्नुभएको छ ।

चितवनमा आयोजित पार्टीको कार्यक्रममा उहाँले जनताले ठूलो मत दिए भन्दैमा अहंकार देखाउने र सर्वसाधारणलाई मान्छे नगन्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

हिजो पार्टीका नेता तथा कार्यकर्तामाथि अन्याय र अपमान भएको भन्दै त्यसको बदला लिन अहिले प्रशासन र प्रहरीमाथि राजनीतिक दबाब दिन नहुने उहाँको भनाइ छ ।

लामिछानेले चुनाव जित्दैमा आफूहरू कुनै ग्रहबाट खसेर आएको नभएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सधैँ जनताको बीचमा रहेर व्यवहार सुधार्न आग्रह गर्नुभयो ।

जनताले मुलुकको जिम्मेवारी सुम्पिसकेको अवस्थामा उच्च राजनीतिक चरित्र र जनअपेक्षाअनुसार काम गर्नुपर्ने उहाँले बताउनुभयो ।