नेपालगञ्ज, कात्तिक १४ । नेपाली जनताले भागवान ठानेका डाक्टर सुन्दुक रुइतले करोडौं रुपमा ठगी गरे भन्दा कसैलाई पत्याउन गाह्रो पर्छ । तर तथ्यले डाक्टर रुइतले नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पताललाई ठगी गरेको देखिएको छ ।
सो अस्पतालले रेटिना ल्याब स्थापना गर्ने उद्देश्यले आफ्नोेतर्फबाट १ करोड ५ लाख रुपैयाँ खर्च गरिसकेको छ । बाँकी आवश्यक उपकरण अष्ट्रेलियाको फ्रेड होलोज फाउन्डेसनले करोडौँ रुपैयाँ मूल्य बराबरको अनुदानस्वरुप उपलब्ध गराउने समझदारी भएको थियो ।
यसका लागि फ्रेड होलोजसँगको साझेदारी र समन्वयमा तिलगंगा आँखा प्रतिष्ठानको भूमिका जोडिएको थियो । फत्तेबालले आफ्नोतर्फबाट ठूलो रकम खर्च गरेपछि अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त हुने उपकरणको प्रतीक्षा गरेको थियो । तर, अस्पताल पक्षको आरोपअनुसार फ्रेड होलोजले पठाएको उपकरण फत्तेबाललाई हस्तान्तरण गरिएन । बरु ती उपकरण काठमाडौंको बालुवाटारस्थित आई केयर प्रालिमा पुर्याएर प्रयोग भइरहेको छ । आई केयर प्रालि सन्दुक रुइतसहितको समूहकै स्वामित्वमा स्थापना भएको निजी अस्पताल हो भन्ने विवरणसमेत सार्वजनिक भएको छ ।

ती उपकरण तीन वर्षभन्दा बढी समयदेखि आई केयरमा प्रयोग भइरहेको फत्तेबाल पक्षको दाबी छ । यसरी हेर्दा विवाद केवल करोडौं मूल्यका उपकरणको विषयमा मात्र सीमित छैन । फत्तेबालले आफ्नै स्रोतबाट खर्च गरेको १ करोड ५ लाख रुपैयाँको लगानीको उद्देश्यसमेत अधुरो बनेको छ । रेटिना ल्याब सञ्चालन गर्ने योजनामा खर्च गरिएको रकमको प्रतिफल अस्पतालले पाउन सकेको छैन ।
फत्तेबालको लगानी, फ्रेड होलोजको अनुदान र तिलगंगाको समन्वयमा अघि बढेको परियोजनाका उपकरण अन्ततः निजी अस्पतालमा कसरी पुगे ? उपकरण हस्तान्तरण गर्ने अधिकार कसलाई थियो ? फत्तेबालले खर्च गरेको रकम र उपकरण प्राप्त गर्ने अधिकारबीचको सम्बन्ध के हो ? यी प्रश्न निकै गम्भीर बनेको छ ।
फत्तेबालले आफ्नो लगानीको हिसाब र अनुदानबाट प्राप्त उपकरणको विवरण माग्नु स्वाभाविक हो । तर, अस्पताल पक्षले उपकरण माग्दा दबाब र प्रहरीमार्फत त्रास देखाउने प्रयास भएको आरोप लगाएको छ । यस विषयमा समेत निष्पक्ष छानबिनको माग भएको छ ।














प्रतिक्रिया दिनुहोस्