जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १०:४८

सरकारका पछिल्ला गतिविधि सत्ताकब्जाका सङ्केत : रविन्द्र मिश्र


काठमाडौं, कात्तिक १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले सरकारका पछिल्ला गतिविधिलाई सत्ताकब्जाका सङ्केतका रूपमा व्याख्या गर्नुभएको छ।

न्यायालय र बिचौलिया प्रकरणसहित पत्रकार पक्राउ, पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र व्यापारीका घरमा खानतलासीका घटनालाई जोड्दै उहाँले वर्तमान सत्ता संरचनाको प्रभाव र नियन्त्रणबारे प्रश्न उठाउनुभएको हो।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले पत्रकार रिहा हुनु सकारात्मक भए पनि पछिल्ला घटनाक्रमका अन्य पक्ष गम्भीर चिन्ताको विषय रहेको बताउनुभएको छ।

‘पत्रकार छुट्नै पर्थ्यो, छुटे । तर गम्भीर चिन्ताको विषय अरू छन्,’ उहाँले लेख्नुभएको छ।

मिश्रले समाचार कक्षबाट बिना पुर्जी पत्रकार पक्राउ गरिएको, मध्यरातमा बिना पुर्जी पूर्वप्रधानन्यायाधीश पक्राउ परेको, व्यापारीका घरमा खानतलासी गरिएको र दिनदहाडै व्यापारीहरू पक्राउ परेको विषय उठाउनुभएको छ।

त्यस्तै, विभिन्न सञ्चार गृह र राजनीतिक नेताहरूका घरअगाडि शङ्कास्पद रूपमा गाडी पार्क गरिएको तथा अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै तर्साइएको विषय पनि उहाँले उल्लेख गर्नुभएको छ। ‘आफ्नाको बचाउ गर, अरूलाई थर्काऊ’ भन्ने प्रवृत्तिमाथि पनि उहाँले प्रश्न उठाउनुभएको छ।

केही सत्ताधारीले सरकारको नियन्त्रणबारे सार्वजनिक रूपमा गर्ने दाबी र वास्तविक अवस्थाबीच अन्तर रहेको मिश्रको टिप्पणी छ।

‘कतिपय सत्ताधारीहरू मिडियामा भन्छन्, हाम्रो नियन्त्रणमा अहिले संसद्को तल्लो सदनमात्र छ। राष्ट्रिय सभा, स्थानीय तह, कर्मचारीतन्त्र, न्यायालय, प्रहरी त पुरानै हुन्,’ उहाँले लेख्नुभएको छ।

यसको अप्रत्यक्ष अर्थ सत्ता अहिले पनि पूर्ण रूपमा आफ्नो नियन्त्रणमा नरहेको भन्ने रहेको उहाँको भनाइ छ।

पछिल्लो समय भइरहेका घटनालाई सत्ताकब्जाका सङ्केतका रूपमा व्याख्या गर्दै मिश्रले सत्ता कब्जा भए अहिले सरकारको समर्थनमा ताली बजाउनेहरूले समेत भविष्यमा दुःख भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ।

‘सत्ताकब्जा हुनु भनेको आज ताली पिट्नेहरू पनि रुने दिन आउनु हो,’ उहाँले लेख्नुभएको छ।