जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार ०८:०८

पत्रकार पक्राउको विरोधमा रास्वपासहित प्रमुख दल एकै ठाउँमा


काठमाडौं, कात्तिक १४ । समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रमुख राजनीतिक दलहरूले विरोध गरेका छन्। उनीहरूले पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमाथि हस्तक्षेप गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्।

रास्वपाका प्रवक्ता जगदीश खरेलले समाचारकै विषयमा पत्रकारलाई पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत रहेको बताउनुभएको छ। उहाँले पत्रकारलाई समाचारका आधारमा पक्राउ गर्ने नीति र सिद्धान्त पार्टीको नरहेको स्पष्ट पार्नुभएको छ।

दोस्रो ठूलो दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहमाथिको हस्तक्षेप र निगरानी तत्काल बन्द गर्न सरकारसँग आग्रह गर्नुभएको छ। समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको उहाँको टिप्पणी छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पक्राउ पुर्जीबिना नागरिकलाई नियन्त्रणमा लिनु त्रास फैलाउने सर्वसत्तावादी अभ्यास भएको बताउनुभएको छ। शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई नियन्त्रणमा लिन खोज्नु फासीवादको संकेत भएको उहाँले उल्लेख गर्नुभएको छ।

नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सञ्चारमाध्यमका कार्यालयमा सादा पोसाकमा प्रहरीले गरेको छापा निन्दनीय भएको बताउनुभएको छ। उहाँले पक्राउ परेका पत्रकारलाई विनासर्त रिहा गर्न र सञ्चारमाध्यममाथिको हस्तक्षेप रोक्न माग गर्नुभएको छ।

शुक्रबार प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। अर्का पत्रकारको खोजी गर्दै प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयसमेत पुगेको थियो।