जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार ०८:११

आज पनि देशभर वर्षाको सम्भावना, चिसो बढ्ने र विपद्को जोखिम


काठमाडौं, कात्तिक १४ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर बदलीसँगै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो सबै प्रदेशमा बदली रहनेछ। कोशी, मधेश र बागमतीका अधिकांश तथा गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ। कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर बदली रहने र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न महाशाखाले अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

वर्षासँगै चिसो बढ्न सक्ने, पहिरो खस्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार भोलि अपराह्नदेखि भने चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ।