काठमाडौं, कात्तिक १४ । पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकड गरेको घटनाको विरोधमा नेपाल पत्रकार महासंघले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
महासंघका अनुसार शनिबार बिहान ८ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुनेछ।
शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएका थिए।
यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालय पुगेको थियो। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा छलफल गरेको समाचारमा उल्लेख छ।
पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालय वा सचिवालयको कुनै संलग्नता नरहेको जनाएको थियो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको बताउनुभएको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै पत्रकार रिहा भइसकेका छन्।














प्रतिक्रिया दिनुहोस्