जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार ०९:२३

वर्षा र झरीको बिच पत्रकारहरूको माइतीघरमा प्रदर्शन


काठमाडौं, कात्तिक १४ । सञ्चारगृहमा मारिएको छापा तथा समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले शनिबार बिहानै वर्षा र झरीको प्रवाह नगरी काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित प्रदर्शनमा पत्रकारहरूले सरकारको प्रेस स्वतन्त्रताविरोधी नीतिप्रति आपत्ति जनाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए। पत्रकार पक्राउ, सञ्चारगृहमा छापा तथा पत्रकारलाई आतंकित पार्ने गतिविधिविरुद्ध महासंघले मौन प्रदर्शनको आह्वान गरेको थियो ।

वर्षा र झरीका बीच पनि पत्रकारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए । 

प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रमेश विष्ट र पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्ववरिष्ठ उपाध्यक्ष विष्टले नेपाली प्रेसलाई पुनः राजा ज्ञानेन्द्रको शासनकालमा जस्तै त्रसित बनाउने प्रयास भइरहेको बताउनुभयो । समाचारको स्रोत खुलाउन दबाब दिने उद्देश्यले पत्रकारलाई अपहरणको शैलीमा गिरफ्तार गरिएको उल्लेख गर्दै उहाँले यस्तो कार्य प्रेस स्वतन्त्रतासम्बन्धी विश्वव्यापी मान्यता र नेपालको संविधानविपरीत रहेको बताउनुभयो ।

सरकारको पछिल्लो गतिविधिले प्रकाशित समाचारको सत्यतालाई पुष्टि गरेको दाबी गर्दै विष्टले नेपाली प्रेस एकढिक्का भएर यस्ता गतिविधिको सामना गर्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारलाई प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने तथा पत्रकारलाई त्रसित बनाउने गतिविधि तत्काल रोक्न चेतावनीसमेत दिनुभयो

प्रहरीले हिजो नेपाल प्रेसकाे समाचार कक्षमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेकाे थियाे । त्यस्तै नयाँ पत्रिका लगायतका सञ्चारगृहमा गई धरपकडकाे प्रयास गरेको थियाे । चाैतर्फि विराेध भए पछि पक्राउ गरिएका पत्रकार सुवेदीलाई केही घण्टामा नै छाडिएकाे थियाे ।

प्रेस स्वतन्त्रा र संविधानकाे लागि लडेकाे पत्रकार आफू भएकाे बताउँदै सुवेदीले अहिले आँफू हतकडि लाग्ने अवस्थामा आएकाे बताउनुभयाे । प्रहरीका आईजीपीकाे निर्देशनमा प्रेस स्वन्त्रता मिच्ने काम भएकाे उहाँले बताउनुभयाे । पत्रकारलाई गिरफ्तार गर्ने आदेश दिने व्यक्तिलाई कारबाही गर्नु पर्ने उहाँले माग गर्नुभयाे ।