जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १०:३७

समाचारको स्रोत खोज्ने नाममा समाचार कक्षमै प्रहरी छिर्नु संविधानमाथिकै प्रश्न : गाउँले


काठमाडौं, कात्तिक १४। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।

उहाँले यस्तो गतिविधि जारी रहे मुलुकमा संविधान नै समाप्त हुने टिप्पणी गर्नुभएको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्थामा अहिले संविधानको रक्षाका लागि नै लड्नुपर्ने परिस्थिति आएको उहाँको भनाइ छ।

‘समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो,’ उहाँले भन्नुभएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौँला, पहिले संविधान जोगाउन लड्नुपर्ने भयो।’

शुक्रबार प्रहरीले समाचारको स्रोतबारे सोधपुछ गर्ने भन्दै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोबराज बराल र डीएनए खबरका धिरज बस्नेतलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, प्रहरीले नयाँ पत्रिका कार्यालय पुगेर पत्रकार नवराज मैनालीबारे सोधखोज गरेको छ। मैनाली कार्यालयमा नभेटिएपछि प्रहरी टोली त्यहीँ बसेको नयाँ पत्रिकामा कार्यरत पत्रकारले जानकारी दिएका छन्।

दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई लिन भन्दै प्रहरी टोली दियो पोस्टको कार्यालयसमेत पुगेको छ।