काभ्रे, कात्तिक १४। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–नगरकोटस्थित श्री महाकाली माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । जापानको नीचिनोकेन कान्तो कम्पनीको सहयोगमा निर्माण सम्पन्न भएको विद्यालय भवन शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो ।
भवन उद्घाटन समारोहका अवसरमा जापानी कम्पनीले विद्यालयलाई कम्प्युटर तथा कलर प्रिन्टर हस्तान्तरण गर्नुका साथै विद्यार्थीहरूलाई कापी र कलमसमेत वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक राम तामाङको अध्यक्षता तथा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोपबहादुर वाइबाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी, जापानका लागि नेपालका पूर्वराजदूत डा. दुर्गाबहादुर सुवेदी र जापानस्थित नीचिनोकेन कान्तो कम्पनीका अध्यक्ष ताकाशी कोजिमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नवीन गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख टोपबहादुर वाइबाले महाकाली माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्याएकोमा जापानको नीचिनोकेन कान्तो कम्पनीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले विदेशी मित्र तथा संस्थाबाट प्राप्त सहयोगले स्थानीय तहमा शिक्षाको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, कम्पनीका अध्यक्ष ताकाशी कोजिमाले नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल र जापानबीच स्थानीय तहस्तरमा कायम आपसी सम्बन्ध र सहकार्यका विषयमा समेत चर्चा गरिएको थियो । मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच सन् २०२४ मा भगिनी सम्बन्ध स्थापना भएको उल्लेख गर्दै दुई देशबीचको मित्रता र सहकार्यलाई थप विस्तार गर्न यस्ता शैक्षिक तथा सामाजिक सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो ।
नवनिर्मित विद्यालय भवनले स्थानीय विद्यार्थीहरूलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल र जापानबीचको मित्रता तथा सहकार्यको उदाहरणका रूपमा रहेको यस सहयोगले स्थानीय शैक्षिक पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारीको महत्त्वलाई थप उजागर गरेको छ ।














प्रतिक्रिया दिनुहोस्