जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार ०८:१६

समाचार कक्षबाट पक्राउ गर्नु प्रहरीको अपरिपक्व र खेदजनक कार्य : सुवेदी


काठमाडौं, कात्तिक १४ । नेपाल प्रेसको समाचार कक्षबाट पक्राउ परेर रिहा हुनुभएका पत्रकार विश्वमणि सुवेदीले समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कार्यशैली अपरिपक्व र खेदजनक भएको बताउनुभएको छ।

रिहा भएपछि प्रतिक्रिया दिँदै सुवेदीले उपत्यका अपराध अनुसन्धान ब्युरोका एसपीले चिया खान बोलाएको भन्दै आफूलाई लगिएको बताउनुभयो।

‘समाचार कक्षमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कुरा अपरिपक्वता हो। यो खेदजनक छ,’ उहाँले भन्नुभयो, ‘सरकारको निर्देशन र आदेशविना कसरी पक्राउ गर्न मिल्छ र?’

माथिबाट आदेश आएको भन्दैमा प्रहरीले अपरिपक्व गतिविधि गर्न नहुने उहाँको भनाइ छ। यस्तो कार्यले प्रहरी संगठनलाई नै कमजोर बनाउने उहाँले बताउनुभयो।

‘प्रहरीले माथिको आदेश आयो भन्दैमा अपरिपक्व काम गरेर प्रहरी संगठनलाई कमजोर बनाइनु हुँदैन,’ उहाँले भन्नुभयो।

नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिँदै प्रहरीले उहाँलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। केहीबेरपछि उपत्यका अपराध अनुसन्धान ब्युरोले उहाँलाई रिहा गरेको हो।