जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार १२:०७

खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरीखोलामा ३ करोड ८९ लाखभन्दा बढी लगानीमा बन्याे खानेपानी याेजना 


काठमाडौं, कात्तिक १३ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रत्येक नागरिकको घरघरमा स्वच्छ खानेपानी उपलब्ध गराउने तथा आगलागीजन्य विपद् व्यवस्थापनका लागि अग्नि नियन्त्रण प्रणाली जडान गर्ने लक्ष्यसहित अघि बढाएको अभियानअन्तर्गत वडा नं. १ खरीखोलामा निर्माण सम्पन्न खानेपानी योजनाको उद्घाटन गरिएको छ।

बिहीबार गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा खरीखोला खानेपानी योजनाको समुद्घाटन गरिएको हो। उद्घाटन समारोहमा साझेदार संस्था एक्शन फर नेपाल (Action for Nepal) का कार्यकारी निर्देशक तथा गाउँपालिकाका सल्लाहकार लाक्पा थेरिङ शेर्पा, प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई, एसोसिएसन हिमालयन आई प्रोजेक्ट (Association Himalayan Eye Project) का अध्यक्ष सर्जे कर्राट (Serge Currat), परियोजना संयोजक ङिमा दोर्जी शेर्पा तथा रोटरी क्लब लुजान (स्विट्जरल्यान्ड) का प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

गाउँपालिकाका अनुसार खरीखोला खानेपानी योजनाअन्तर्गत स्किम ४ र ६ तथा स्किम ७ र ८ गरी दुईवटा योजना साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न भएका छन्। स्किम ४ र ६ अन्तर्गतको खानेपानी योजनामा गाउँपालिकाको तर्फबाट ७८ लाख ९८ हजार ९४९ रुपैयाँ ९३ पैसा, एक्शन फर नेपाल र एसोसिएसन हिमालयन आई प्रोजेक्टको तर्फबाट ७९ लाख १५ हजार ५४४ रुपैयाँ ८५ पैसा तथा स्थानीय उपभोक्ता समितिको श्रमदानबाट ४ लाख ६९ हजार ३९५ रुपैयाँ ४७ पैसासहित कुल १ करोड ६२ लाख ८३ हजार ८९० रुपैयाँ २५ पैसा खर्च भएको छ।

त्यसैगरी, स्किम ७ र ८ अन्तर्गतको योजनामा गाउँपालिकाको तर्फबाट ३६ लाख ६ हजार ८८३ रुपैयाँ, एक्शन फर नेपाल खरीखोलाबाट ४६ लाख ६२ हजार ३३३ रुपैयाँ तथा स्थानीय उपभोक्ता समितिको श्रमदानबाट ४ लाख ७५ हजार ४८३ रुपैयाँ गरी कुल ८७ लाख ४४ हजार ६९९ रुपैयाँ लगानी भएको जनाइएको छ।

गाउँपालिकाले खरीखोला खानेपानी योजनाअन्तर्गत स्किम १, २, ३ र ५ का लागि यसअघि विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरी खर्च गरेको जनाएको छ। जसअनुसार आर्थिक वर्ष २०७९/०८० मा ५० लाख रुपैयाँ, २०८०/०८१ मा ३० लाख रुपैयाँ, २०८१/०८२ मा ५३ लाख रुपैयाँ र २०८२/०८३ मा १५ लाख रुपैयाँ गरी कुल १ करोड ४८ लाख रुपैयाँ खर्च गरिएको छ।

गाउँपालिकाका अनुसार खरीखोला खानेपानी योजनामा हालसम्म गाउँपालिकाको तर्फबाट २ करोड ६३ लाख ६५ हजार ८३८ रुपैयाँ तथा साझेदार संस्थाहरूको तर्फबाट १ करोड २५ लाख ७७ हजार ८७७ रुपैयाँ गरी कुल ३ करोड ८९ लाख ४३ हजार ७१५ रुपैयाँ लगानी भएको छ।

गाउँपालिकाले स्वच्छ खानेपानीलाई नागरिकको आधारभूत आवश्यकताका रूपमा लिँदै प्रत्येक घरपरिवारमा खानेपानीको सहज पहुँच पुर्‍याउने लक्ष्य राखेको छ। साथै, आगलागीजस्ता विपद्बाट नागरिकको धनजनको क्षति न्यूनीकरण गर्न अग्नि नियन्त्रण प्रणाली जडान गर्ने योजनासमेत अघि सारेको छ।

यस परियोजनाले स्थानीय नागरिकको दैनिक जीवनयापन सहज बनाउनुका साथै स्वास्थ्य, सरसफाइ र समग्र सामुदायिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

खानेपानी योजना सम्पन्न गर्न आर्थिक, प्राविधिक तथा श्रमदानमार्फत सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी दाता, साझेदार संस्था, स्थानीय उपभोक्ता समिति तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान दिनुहुने सबैप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।