जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार २०:४३

इनमसँगको म्यासेज प्रकरणले सर्वोच्चमा तरंग, शुक्रबार फूलकोर्ट बैठक बस्दै


काठमाडौं, कात्तिक १२ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालको नाम जोडिएको म्यासेज प्रकरण सार्वजनिक भएपछि सर्वोच्च अदालतमा तरंग पैदा भएको छ। घटनाबारे बिहीबार सर्वोच्च अदालतबाट संस्थागत प्रतिक्रिया नआए पनि शुक्रबार सबै न्यायाधीश सहभागी हुने फूलकोर्ट बैठक बोलाइएको छ।

इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनीसँगको ह्वाट्सएप कुराकानी सार्वजनिक भएको हो। प्रकरणमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालको नाम जोडिएपछि न्यायिक वृत्तमा चासो बढेको छ।

सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीका अनुसार बिहीबार इजलास गठनका लागि गोलाप्रथा गर्न बसेको बैठकमा यस विषयमा छलफल भएन। अन्य दिनजस्तै न्यायाधीशहरूले गोला तानेर इजलास छनोट गरे र आ–आफ्नो चेम्बरमा गए।

न्यायाधीश हरि फुयाल भने गोला तान्ने बैठकमा सहभागी हुनुभएन। सम्बन्धित न्यायाधीश अनुपस्थित हुँदा अन्य न्यायाधीशले उनको गोला तानिदिने अभ्यास छ। फुयालले बिहीबार न्यायाधीश बालकृष्ण ढकालसँग संयुक्त इजलासमा बसेर मुद्दा हेर्नुभएको थियो। दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले इनम सापकोटासँग सम्पर्क र भेटघाट गर्नुको कारणबारे आफ्नो धारणा राख्नुभयो।

फुयालले इनमसँगको सम्पर्कमा आफ्नो कुनै बदनियत नरहेको र त्यसले विचाराधीन मुद्दामा प्रभाव नपारेको जिकिर गर्नुभयो। बिहीबार साँझ विज्ञप्ति जारी गर्दै उहाँले आफूबाट न्यायिक निष्ठा र न्यायपालिकाको प्रतिष्ठामा आँच आउने काम नभएको दाबी गर्नुभयो। साथै, अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रधानन्यायाधीश शर्माले पनि बिहीबार आफ्नै हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै इनम सापकोटासँग आफ्नो सम्पर्क वा भेटघाट नभएको जिकिर गर्नुभयो। त्यसअघि उहाँले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीसँग छलफल गर्नुभएको थियो।

न्यायाधीश श्रीकान्त पौडेलले पनि विज्ञप्ति जारी गर्दै आफूले मुद्दाको आदेश गर्दा बहस, पैरवी र मुद्दाको विषयवस्तुलाई आधार बनाएको तथा कुनै व्यक्तिसँग भेटघाट नगरेको स्पष्ट पार्नुभयो।

शुक्रबार बिहान बस्ने फूलकोर्ट बैठकको कार्यसूचीमा ‘समसामयिक विषयमा छलफल’ उल्लेख छ। बैठकमा प्रधानन्यायाधीश शर्मासहित सर्वोच्च अदालतका न्यायाधीशहरू सहभागी हुनेछन्। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणमा रहेकाले उहाँको अनुपस्थितिमै बैठक हुन लागेको हो।

यसैबीच, नेपाल बार एशोसिएसनले घटनाको निष्पक्ष छानबिन गर्न र न्यायिक नेतृत्व तथा सम्बन्धित न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गर्न माग गरेको छ। गल्ती भेटिए कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बारको माग छ।

प्रकरणबारे सर्वोच्च अदालतका न्यायाधीशहरूबीच सामूहिक छलफल हुन नसकेको अवस्थामा शुक्रबारको फूलकोर्ट बैठकलाई चासोका साथ हेरिएको छ। घटनामा संलग्नतासम्बन्धी विषयमा छानबिन र तथ्यगत स्पष्टता आवश्यक देखिएको छ।