काठमाडौं, कात्तिक १२ । इङ्ल्यान्डका ब्याटर मोइन अलीको अलराउन्ड प्रदर्शनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अली ५८ र हसन अली ४० रनमा अविजित रहे। दुवैले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गरे।
मोइनले ५१ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। हसनले २६ बलमा एक चौका र तीन छक्का प्रहार गरे। जनकपुरका ओपनर तृतराज दास पाँच रनमा आउट भए भने मायन यादव नौ रन बनाएर रनआउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जनकपुरका युवा बलर राहुल यादवले चार विकेट लिएर काठमाडौंको ब्याटिङ धराशायी बनाए। उनले ३१ रन खर्चिए। सइफ हसनले दुई विकेट लिए भने मोइन अली, कप्तान हरमित सिंह र ललित राजवंशीले समान एक विकेट हात पारे।
काठमाडौंले सुरुदेखि नै लगातार विकेट गुमाएको थियो। पाँच ओभरको खेल सकिँदा टोली २९ रनमा तीन विकेट गुमाएर दबाबमा थियो। भीम सार्की र सुमित महर्जनले पाँचौँ विकेटका लागि २९ रनको साझेदारी गरे पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्याउन सकेनन्।
जनकपुरले यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो। दोस्रो खेलमै जित निकाल्दै जनकपुरले प्रतियोगितामा पुनरागमन गरेको छ। काठमाडौं गोर्खाजका लागि भने यो सिजनको पहिलो खेल थियो।














प्रतिक्रिया दिनुहोस्