काठमाडौं, कात्तिक १२ । सडक दुर्घटनामा मृत्यु भएको ठानेर दाहसंस्कार गरिएका मोरङका पदमबहादुर राय आठ महिनापछि जीवितै घर फर्किएपछि प्रहरीले अन्त्येष्टि गरिएको शवको पहिचानबारे अनुसन्धान थालेको छ। डीएनए परीक्षण नगरी परिवारको सनाखतका आधारमा शव बुझाइएको घटनाले प्रहरीको कार्यप्रक्रियामाथि समेत प्रश्न उठाएको छ।
मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका पदमबहादुरलाई मृत ठानेर परिवारले दाहसंस्कार गरेको थियो। परिवारले बिमाबापत पाँच लाख ५० हजार रुपैयाँसमेत बुझेको खुलेको छ। तर पदमबहादुर जीवितै फर्किएपछि दाहसंस्कार गरिएको शव कसको थियो भन्ने प्रश्न उठेको छ।
मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार घटनाका बेला पदमबहादुरकी आमाले अस्पतालमा राखिएको शव आफ्नै छोराको भएको भन्दै सनाखत गर्नुभएको थियो। त्यसपछि प्रहरीले डीएनए परीक्षण नगरी शव परिवारलाई बुझाएको थियो।
गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएपछि आफन्त सम्पर्कमा नआउँदा शव अस्पतालको शवगृहमा राखिएको थियो।
प्रहरीले मृतकका आफन्तको खोजी गर्न सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछि पदमबहादुरकी आमा अस्पताल पुग्नुभएको थियो। उहाँले शव आफ्नै छोराको भएको बताएपछि प्रहरीले परिवारलाई शव बुझाएको थियो।
प्रहरीका अनुसार पदमबहादुर पछिल्लो समय घर छाडेर हिँड्ने गर्नुभएको थियो। विवाहपछि श्रीमती अलग्गिनुभएको र उहाँ नियमित रूपमा घरमा नबस्ने गरेको विवरणसमेत प्रहरीमा पुगेको थियो।
एसपी कटुवालका अनुसार पदमबहादुर जीवितै फर्किएपछि उहाँका आफन्त प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरूले बिमाबापत प्राप्त रकम फिर्ता गर्ने र अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।
अब प्रहरीले दुर्घटनाका बेला खिचिएका तस्बिर तथा भिडियो अध्ययन गरी अस्पतालमा मृत्यु भएका व्यक्तिको पहिचान गर्ने प्रयास गर्नेछ। साथै, शव पहिचान गर्दा परिवारबाट गल्ती भएको हो वा बिमाको रकम प्राप्त गर्ने उद्देश्यले जानाजानी गलत सनाखत गरिएको हो भन्ने विषयमा पनि अनुसन्धान हुनेछ।
शवको वास्तविक पहिचान नगरी परिवारलाई बुझाइएको विषयमा समेत प्रहरीले अनुसन्धान गर्ने जनाएको छ। घटनामा कसैको संलग्नता वा कसुर पुष्टि भइसकेको छैन।














प्रतिक्रिया दिनुहोस्